एकै मारमा राँगो नछिनाउँदा गुम्यो पौने ३ लाख

एकै मारमा राँगो नछिनाउँदा गुम्यो पौने ३ लाख
सांकेतिक फाइल तस्वीर
शुक्रबार, अशोज २४, २०७६

म्याग्दी । एकै मारमा राँगो छिनाउन नसक्दा रघुगंगा गाउँपालिका–२, नाङनागेका रामप्रसाद खत्रीले २ लाख ८८ हजार रुपैयाँ गुमाएका छन्।

दसैंको नवमीका दिन राखु भगवती कोत मन्दिरमा बलि चढाइने सरकारी राँगो एकै मारमा छिनाउने दाबी गर्दै उनी २ लाख ८८ हजार तिर्न तयार भएका थिए । तर लक्ष्यमा चुकेपछि उनले उक्त रकम गुमाउनुपरेको हो।

नवमीमा बलि दिइने राँगो मार हान्न कालरात्रिमै सर्वसाधारणले रकम कबोल्ने गर्छन् । खत्रीबाहेक अन्य ८ प्रतिस्पर्धीले २ लाख ८५ हजार रुपैयाँसम्म कबोलेका थिए ।

उनले राँगो छिनाएको भए फेटा र पैसाको माला लगाई आफन्तले गाउँ परिक्रमा गराउँथे। उनले कबोलेकै बराबरको रकम पनि उठ्न सक्थ्यो। कबोलेको रकम मन्दिर व्यवस्थापन समितिलाई बुझाएपछि मात्रै मार हान्न पाइन्छ। गत वर्ष पनि खत्रीले १ लाख ६५ हजार बोलकबोल गरी राँगो मार हान्न पछ्याएका थिए।

राँगा नछिनिएपछि खत्रीले उक्त रकम गुमाउन पुगे। त्यति मात्र होइन, राँगा नछिनेपछि उनीमाथि अन्य जोखिम पनि आइलाग्ने अवस्था थियो। तर, आफन्तजनले सुरक्षित रूपमा भगाएर लुकाएपछि उनी सुरक्षित भए। मार असफल भएमा स्थानीयले रगत दलेर अपमानसमेत गर्छन्। त्यसैले मार हान्नुअघि नै आफन्त र शुभचिन्तकले घेरा हालेर सुरक्षा दिन्छन्।

‘मनले आँटेको पुग्ने विश्वासले दुर्गा भगवतीलाई बलि चढाइने सरकारी राँगो मार हान्न ठूलो हानथाप हुन्छ,’ जिल्ला समवन्य समितिका प्रमुख स्थानीय देवेन्द्रबहादुर केसीले भने, ‘बाइसे/चौबिसे राजाका पालादेखि यहाँको कोत मन्दिरमा बढिबढाउ गरी राँगो हान्ने (काट्ने) चलन छ।’

जिल्लाका अन्य केही कोतमा पनि नवदुर्गालाई बलि दिइने राँगा र खसी–बोका काट्न बोलकबोल गर्ने चलन छ। थोरै रकमको बाजी हुने भएकाले अन्ततिर कमै चर्चा हुन्छ।

‘ध्वजा अक्षता’ शीर्षकमा सरकारी खर्च आउने जिल्लाको यो एक मात्र कोत हो। गुठी संस्थानले मालपोत कार्यालयमार्फत् हरेक वर्षको दसैंमा ध्वजा अक्षता खर्च पठाउँछ।

तत्कालीन राजा गिर्वाणयुद्ध विक्रम शाहकी रानी सूवर्णप्रभा तीर्थाटनका लागि मुक्तिनाथ आउँदा नियमित पूजा सञ्चालनार्थ म्याग्दीको राखु पिप्ले, भगवती, मौवाफाँट, कटुवाल थर र दोवामा २८ हजार ८ सय ९३ रोपनी ९ आना १ पैसा १ दाम क्षेत्रफलको जग्गा गुठी राखी राखुका सुवेदीलाई सदाका लागि मुक्तिनाथ मन्दिरका पुजारी तोकिदिएको बताइन्छ। सोही समयदेखि कोतमा पूजा सञ्चालन खर्च आउन थालेको हो। पछिल्ला वर्ष संस्थानले दसैंमा ३ हजार रुपैयाँ पठाउने गरेको छ। कान्तिपुरबाट