भारतमा दाइजो अपराध : नेपाली चेलीको हत्या गरेर पानीमा फालियो

भारतमा दाइजो अपराध : नेपाली चेलीको हत्या गरेर पानीमा फालियो
सोमवार, अशोज २७, २०७६

रविन कट्टेल

विराटनगर- माइतीबाट दाइजो नल्याएको भन्दै बिराटनगरकी एक महिलालाई सिमावर्ती भारतको जोगवनीमा हत्या भएको छ।  विराटनगर-११, पञ्चमुखी चौकका मनिकचन्द सहनीकी २२ वर्षीया छोरी रञ्जुदेवी सहनी (बहरदार) को जोगवनीमा हत्या भएको हो।

भारतको अररिया जिल्लास्थित परवाना नदीको मिरगन्ज पुल नजिकै पानीमा फालेको अवस्थामा रञ्जुको शव भेटिएको छ। शवको पोष्टमार्टमपछि नेपाल नै ल्याएर दाहसंस्कार गरिने मृतकका माइती पक्षले बताएका छन्।

हत्यामा संग्लन भएको आरोपमा रन्जुका श्रीमानसहित चार जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रन्जुका श्रीमान् भीम बहरदार, जेठाजु अर्जुन बहरदार, ससुरा सैनी बहरदार र छिमेकी शिवानन्द मुखिया रहेको जोगबनी प्रहरी थानाका इन्चार्ज अफताब अहमदले जानकारी दिए।

उनीहरु बिरुद्ध रन्जुका माईती पक्षले भारतीय प्रहरीमा ज्यान मुद्दा दर्ता गराएका छन्।

यस्तो छ हत्याको प्रकरण

गत फागुनमा भारतको अररिया जिल्ला तकियाका २५ बर्षीय भीम बहरदारसँग रन्जुदेवीको विवाह भएको थियो। विवाहपछि बहरदार परिवारले पटक-पटक रन्जुलाई दाईजोको विषयमा मानसिक र शारीरिक यातना दिँदै आएको माईती पक्षको आरोप छ।

दाईजोको दवावपछि माईती पक्षले केहि समय अगाडी मोटरसाईकलसमेत किनेर दिएका थिए। ‘हामीले भर्खरै मात्र मोटरसाईकल किनिदिएका थियौं,’ रन्जुका हजुरबुबा उमालाल सहनीले भने, ‘छोरीका सासु-ससुरा र श्रीमानले फेरी दुई लाख पैसा मागे। त्यो दिन नसक्दा रन्जुको हत्या गरेका हुन्।’

यस अघि पनि रञ्जुलाई सासु-ससुरा र श्रीमानले पटक-पटक दाइजोको निहूँमा यातना दिने गरेको उमालालले सुनाए। पछिल्लोपटक माग गरेको दुईलाख दिन नसकेकै कारण नातिनीले ज्यान गुमाउनु परेको उनको आरोप छ।