नेपाली क्रिकेटमाथिको निलम्बन सशर्त फुकुवा गर्ने आइसीसीको निर्णय

नेपाली क्रिकेटमाथिको निलम्बन सशर्त फुकुवा गर्ने आइसीसीको निर्णय
मङ्लबार, अशोज २८, २०७६

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन सशर्त फुकुवा गरेको छ ।

दुबईमा सोमबार सम्पन्न आईसीसीको बैठकले सशर्त क्यानको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो । तर, आईसीसीले शर्तहरु भने खुलाएको छैन। यस्तै आईसीसीले जिम्बावेमाथि लगाएको निलम्बन समेत सशर्त फुकुवा गर्ने निर्णय गरेको छ ।

बैठकले जारी गरेको विज्ञप्तिमा जिम्बावे र नेपाललाई आईसीसी सदस्यको रूपमा स्वीकार गरेको जनाइएको छ । आईसीसीले क्यानको प्रगतिलाई ध्यानमा राख्दै सदस्यता प्रदान गरेको बताएको छ ।

नेपालमा भएको प्रगतिलाई ध्यानमा राख्दै अब क्रिकेट एसोसिएसन अफ नेपाललाई सदस्यता मापदण्डको पूर्ण पालना गर्न सहयोग गर्ने र योजना तयार गरिने आईसीसीका चियरम्यान सशांक मनोहरले बताएका छन् । जसमा वित्तीय कोष पनि समावेश हुने जनाइएको छ ।

आईसीसीले निलम्बन गरेको साढे ३ वर्षपछि क्यानलाई फुकुवा गरेको हो । सरकारी हस्तक्षेप र अवैधानिक चुनावको कारण देखाउँदै आईसीसीले सन २०१६ मा क्यानलाई निलम्बन गरेको थियो ।

तर, आईसीसीको स्वतन्त्र कमिटिले क्यानको नयाँ नेतृत्वको निर्वाचन गर्दै नयाँ कार्यसमिति चयन गरेपछि क्यान फुकुवा भएको हो । काठमाडौंमा गत असोज १० र ११ भएको साधारण सभाले चतुरबहादुर चन्द नेतृत्वको नयाँ कार्यसमिति चयन भएको थियो ।