यत्रु ठगी रोक्न प्रशासनिक प्रयास : गाडी भाडा बढि लिनेविरुद्ध मुद्दा दायर

यत्रु ठगी रोक्न प्रशासनिक प्रयास :  गाडी भाडा बढि लिनेविरुद्ध मुद्दा दायर
मङ्लबार, अशोज २८, २०७६

खोटाङ- यात्रुबाट बढी भाडा लिएको आरोपमा दुई जनाविरुद्ध कालोबजारी ऐन अन्तर्गत मुद्दा दायर गरिएको छ। तोकिएकोभन्दा बढी भाडा लिएको आरोपमा हुर्लुङस्थित खोटाङ यातायात प्रालिको काउण्टरबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१३ नुनथलाका तेञ्जी शेर्पा र फुर्वा शेर्पालाई पक्राउ गरी सोमबार मुद्दा दायर गरिएको हो।

खोटाङबाट काठमाडौँ जाने यात्रुबाट जनही  एक हजार ४५० लिनुपर्नेमा दुई हजारका दरले उठाएको गुनासो आएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो। यातायातमा कालोबजारी भएको गुनासो आए पनि उजुरी नपरेपछि प्रहरी आफैँ यात्रु भएर जाँदा कालोबजारी गरेको पुष्टि भएपछि उनीहरू पक्राउ परेका हुन्।

पक्राउ परेकाहरूविरुद्ध सोमबार नै जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गर्नाका साथै १० दिनको म्याद थप गरेर कारवाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जानकारी दिए। कालोबजारी आरोप पुष्टि भए  एक वर्षसम्म कैद र  १० लाखसम्म जरिवाना गर्न सकिने कानूनी प्रावधान छ।

दशैँ-तिहारको बेलामा जिल्ला भित्रिने र बाहिरिने यात्रुबाट मनपरी भाडा लिएकाले जाँचका लागि ठाउँ-ठाउँमा प्रहरी परिचालन गरिएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायले बताए।

ऐसेलुखर्क, बाक्सिला लगायत ग्रामीण क्षेत्रमा सञ्चालन हुने सवारी साधनले यात्रुबाट मनपरी भाडा लिइरहेको गुनासो आएको थियो।