सांसद आलमलाई थप अनुसन्धान गर्न ७ दिन म्याद

सांसद आलमलाई थप अनुसन्धान गर्न ७ दिन म्याद
मङ्लबार, अशोज २८, २०७६

रौतहत- सामुहिक हत्या आरोपमा पक्राउ परेका मोहम्मद आफताब आलमलाई रौतहट जिल्ला अदालतले थप अनुसन्धानका लागि सात दिन म्याद थपिदिएको छ।

जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले आलमलाई अनुसन्धानका लागि मंगलबार सात दिन म्याद थप गरिदिएको हो। आलमलाई प्रहरीले घटना भएको १२ वर्षपछि गत २६ गते आइतबार रौतहटस्थित उनकै निवासबाट पक्राउ गरेको थियो।

प्रहरी प्रधान कार्यालयबाट गएको विशेष टोलीले उनलाई पक्राउ गरेको थियो। २०६४ सालमा  पहिलो संविधानसभा चुनावका बेला आलमकै घर नजिक भएको बम विष्फोटमा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो।

विष्फोटमा घाइते भएका ११ जनालाई इँटाभट्टाको भुङ्ग्रोमा हालेर हत्या गरेको आरोप उनी विरुद्ध लागेको छ।  उक्त हत्याकाण्डबारे जाहेरी दिने शेख रूक्साना खातुनलाई गोली हानेर मारेको आरोप समेत उनलाई छ।

आलम अदालतबाट दोषी ठहर भए उनको सांसदपद स्वत जाने छ।