नेपाली क्रिकेट टिमको कप्तानी छोड्ने पारस खडकाको घोषणा

नेपाली क्रिकेट टिमको कप्तानी छोड्ने पारस खडकाको घोषणा
मङ्लबार, अशोज २८, २०७६

राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले कप्तानी छाड्ने घोषणा गरेका छन्। दश वर्ष यता लगातार नेपाली राष्ट्रिय टोलीको कप्तानी गर्दै आएका पारसले आइसीसीले नेपाल क्रिकेट संघ क्यानलाई ससर्त निलम्बन फुकुवाको निर्णय गरे लगत्तै कप्तानी छाड्ने घोषणा गरेका हुन्।

‘मैले क्रिकेटको कप्तान पदबाट राजीनामा दिने निर्णय लिएको छु’, पारसले  विज्ञप्तीमार्फत भनेका छन्, ‘नयाँ तरिकाले क्रिकेटलाई अगाडि बढाउन बाटो खुलोस् भन्ने मेरो चाहाना हो।’

पारसले पहिलोपटक सन् २००९ को एसीसी टी-२० कपका लागि राष्ट्रिय टिमको कप्तानी पाएका थिए। तत्कालिक कप्तान विनोद दासको स्थानमा कप्तानी गर्ने अवसर पाएका पारसले  त्यसयता लगातार नेपाली टिमको कप्तानी गर्दै आएका छन्।

२२ वर्षको उमेरमै कप्तानको जिम्मेवारी पाएका पारस नेपाली क्रिकेटमा सफल कप्तानका रुपमा परिचित छन्। उनको नेतृत्वमा नेपालले डिभिजन-५ देखि एकदिवसीय टिम र टी-२० टिमको मान्यता पाएको छ।

बंगलादेशमा भएको सन् २०१४ को टी-२० विश्वकपमा नेपालको तर्फबाट नेतृत्व गरेका पारसले नेपालका लागि एकदिवसीय र टी-२० शतक हान्ने रेकर्डसमेत बनाएका छन्।

सन् २००४ मा इन्टरकन्टिनेन्टल गेम्समा मलेसियाविरुद्धको खेलमार्फत डेब्यू गरेका पारसले पहिलो इनिङमै ४४ रन र १ विकेट लिएका थिए। नेपालले ९ विकेटले उक्त खेल जितेको थियो।

नेपालका लागि पारसले ६ वटा एकदिवसीय, २७ टी-२० अन्तर्राष्ट्रिय, २ फर्स्ट क्लास, ४० लिस्ट ए र ५० टी–२० खेल खेलेका छन्।

टिमको कप्तानी छाडेपनि पारसले राष्ट्रियममा खेल्न भने अझै केही समय  छोड्ने छैनन्।