बुद्ध एयरको काउण्टर तोडफोड आरोपमा सांसद प्रमोदकुमार साह पक्राउ

बुद्ध एयरको काउण्टर तोडफोड आरोपमा सांसद प्रमोदकुमार साह पक्राउ
मङ्लबार, अशोज २८, २०७६

काठमाडौं- जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गर्ने सांसद प्रमोदकुमार साह पक्राउ परेका छन्। राष्ट्रिय जनता पार्टीका सांसद साहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार मध्याह्न पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ।

महानगरीय प्रहरी आयुक्त कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले  भने, ‘सांसद साहलाई पक्राउ गरी जिल्ला अदालत धनुषा पठाउने प्रक्रिया थालेका छौं।’

जिल्ला प्रहरी कार्यालय धनुषाको अनुरोधमा अदालतले सांसद साहविरूद्ध मंगलबार पक्राउ पूर्जी जारी गरेको थियो। पूर्जी जारी भएको केही घन्टामै साह पक्राउ परेका हुन्।

साह काठमाडौंबाट जनकपुर फर्किने सिलसिलामा त्रिभुवन विमानस्थल पुगेका थिए। सर्लाहीबाट निर्वाचित सांसद साहले सोमबार बुद्ध एयरको जनकपुरस्थित काउन्टरमा तोडफोड र कर्मचारीलाई अभद्र व्यवहार गरेका थिए।

साहलाई काउन्टरमा बसेका कर्मचारीलाई धकेलेको समेत आरोप लागेको छ। सोमबार बिहान ११:४० का लागि तोकिएको बुद्ध एयर उडान जहाज १:३० सम्म पनि नपुगेपछि आक्रोशित भएकाथिए।

आक्रोशकै क्रममा भनाभन भएपछि सांसद साहले काउन्टरमा मुक्का बजार्दै कर्मचारीलाई धकेलेको प्रहरीले जनाएको छ।

सांसद साह विरुद्ध प्रतिशोधमा उत्रिएका कर्मचारीले २:३० जहाज  पुगेपछि पनि जहाजमा चढाउन अस्वीकार गरेका थिए। प्रहरी र धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलको पहलमा काठमाडौं उडेका साहलाई थिए।