महरालाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

महरालाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
मङ्लबार, अशोज २८, २०७६

का‌ठमाडौं- संसद सचिवालयकी कर्मचारीलाई बलात्कार गर्न खोजेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अझै तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।  जिल्ला अदालत काठमाडौंका न्यायाधीश दीपककुमार दाहालकाे एकल इजलासले महरालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

गत १९ गते पक्राउ गरेकाे प्रहरीले दशैँ सहितका विदाका कारण १०औं दिन मंगलबार महरालाई अदालत पेश गरेको थियो। त्यस अघि जिल्ला सरकारी वकिलको कार्यालयमा लगिएपछि महरालाई अदालतमा पेश गरिएको हो।

सरकारी वकिलका तर्फबाट बहस गर्दै अधिवक्ता  उमाकान्त पौडेलले महरालाई १३ दिन हिरासतमै राखेर अनुसन्धान गर्न म्याद माग गरेका थिए। महराका तर्फबाट पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठ र अधिवक्ता मुरारी सापकोटाले बहस गरेका थिए।

असोज १२ गते (आइतबार) महराले आफूमाथि बलात्कार प्रयास गरेको भन्दै संसद सचिवालयकी महिला कर्मचारीले सोमबार मिडियामार्फत घटना सार्वजनिक गरेकी थिइन्। प्रहरीले घटना भएको दिनदेखि नै अनुसन्धान शुरु गरेको जनाए पनि असोज १७ गते महिलाको उजुरी परेपछि मात्रै महरालाई पक्राउ गर्ने प्रक्रिया अगाडि बढाएको थियो ।

जरुरी महत्वको कार्यासञ्चालनका लागि गठन भएको काठमाडौं जिल्ला अदालतको इजलाशले असोज १९ गते महरालाई पक्राउ गर्न अनुमति दिएको थियो। अदालतको अनुमतिसँगै महरा १९ गते पक्राउ परेका थिए।

प्रहरीले घटना भएको तेस्रो दिन घटना भएको भनिएको स्थल (पीडित महिला)को कोठाबाट समेत सबूत प्रमाण शंकलन गरेको थियो। प्रहरीले महिलाको कोठाबाट रक्सीको बोत्तल, रक्सी पिउन प्रयोग भएको गिलास, फुट्टेको चस्माको फ्रेम, जुत्ताको तलुवा, भान्सामा प्रयोग भएका केही भाँडाकुँडा संकलन गरेको थियो।