एक लाखको पटाकासहित ३७ लाख मूल्य बराबरको अबैध सामग्री बरामद

शसस्त्रले भन्सारमा बुझायो

एक लाखको पटाकासहित ३७ लाख मूल्य बराबरको अबैध सामग्री बरामद
शुक्रबार, कार्तिक १, २०७६

झापा-तिहारका लागि ल्याइएका पटाकासहितका बारुदजन्य पदार्थ सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रित पटाका जन्य पदार्थ एक लाख रुपैयाँभन्दा बढी मूल्यको रहेको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार गस्ती सुरक्षा गुल्म काँकरभिट्टाले गस्तीका क्रममा बारुदजन्य पदार्थ बरामद गरेको हो ।

त्यसैगरी भन्सार छलि गरी नेपाल भित्र्याउँदै गरेको आवस्थामा ४ लाख ७७ हजार ५ सय मूल्य बराबरको अन्य सामानहरु समेत सशस्त्रले बरामद गरेको छ। बरामद गरिएका सामानहरुमा लत्ता कपडा, खाद्यान्न तथा अवैध सामानहरु रहेका छन्।

बरामद गरिएका पटाकाजन्य वस्तुहरुलाई प्रहरीले नष्ट गरेको छ भने अन्य सामानहरु मेची भन्सार कार्यालयमा बुझाउने गुल्मपति ज्ञानमणि पौडेलले बताए।

गत दुई महिनामा सशस्त्र प्रहरीको नं.८ गुल्म काँकरभिट्टाले ३१ लाख १२ हजार ८ सय २१ मुल्य बराबरको सामानहरु बराबद गरी भन्सार दाखिला गरिसकेको बताईएको छ।

गुल्मपति ज्ञानमणि पौडेलका अनुसार मोबाई गस्ती, चेकप्वाईन्ट तथा पट्रोलिङ्गहरु गरी उक्त सामानहरु भारतबाट नेपाल भित्राउदै गर्दा समातिएको हो।