विवादका बिच काभ्रेमा नेकपाको जिल्ला कमिटिले पायो पुर्णता

विवादका बिच काभ्रेमा नेकपाको जिल्ला कमिटिले पायो पुर्णता
शनिबार, कार्तिक २, २०७६

काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को काभ्रेपलाञ्चोक जिल्ला कमिटीका पदाधिकारीलाई आज शपथ दिलाइएको छ । नेकपा प्रदेश नं ३ का इन्चार्ज अष्टलक्ष्मी शाक्यले शपथग्रहण गराएकी हुन् ।

केन्द्रीय पार्टी नेतृत्वले ढिलो गरी अर्थात् अन्तिममा गत असोज ९ गते काभ्रेपलाञ्चोक जिल्ला कमिटी घोषणा गरेको थियो । घोषणाको २३ दिनपछि बनेपामा शपथ कार्यक्रम आयोजना गरिएको हो ।

नेकपा केन्द्रीय कमिटीले काभ्रेपलाञ्चोक जिल्ला इन्चार्जमा नेकपा केन्द्रीय सदस्य सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा तोकिएको छ । नेकपा काभ्रेपलाञ्चोकको अध्यक्षमा पूर्व नेकपा (माओवादी केन्द्र)का केन्द्रीय नेता रुकू चौलागाँइ र सचिवमा तत्कालीन नेकपा (एमाले)का अध्यक्ष टोकबहादुर तामाङ तोकिएका छन्  ।
जिल्ला अध्यक्ष, सचिव तथा सदस्य गरी १२६ ले शपथ लिएका छन्, तर १० जनाले सपथ लिएनन् । तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को घोषणा भए पनि काभ्रे जिल्ला कमिटीमा भने त्यसको दुई वर्ष तीन महीनापछि अर्थात् अन्तिममा मात्रै ७७ औँ जिल्ला कमिटीका रूपमा घोषणा गरिएको थियो ।

तत्कालीन एमालेको जिल्ला कमिटीले पुनर्गठित नेकपाका लागि सिफारिश गरेको सदस्यमा केही ‘हेरफेर’ गर्नुपर्ने भएकाले विभिन्न चरणको छलफलपछि नेकपा काभ्रेपलाञ्चोक जिल्ला कमिटीका लागि केन्द्रीय कमिटीद्वारा पदाधिकारी घोषणा भएको थियो ।

पूर्वएमालेका ६३ र पूर्व माओवादी केन्द्रका ६३ जनाको प्रतिनिधित्वमा १ सय २६ को काभ्रे जिल्ला कमिटी घोषणा गरिएको हो । पूर्वएमालेका तर्फबाट १५ र पूर्वमाओवादी केन्द्रका तर्फबाट चार मनोनित थपिनेछन् ।