राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम : २७ लाख बालबालिकालाई खुवाईदै

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम : २७ लाख बालबालिकालाई खुवाईदै
शनिबार, कार्तिक २, २०७६

काठमाडौं- आज र भोली देशका सबै स्थानीय तहमा राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत् पाँच वर्ष मुनिका बालबालिका लाई भिटामिन ‘ए’ खुवाईदै छ।

कार्यक्रम अन्तर्गत जन्मेको ६ महिनादेखि पाँच वर्षसम्मका झण्डै २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल, एक वर्षदेखि पाँच वर्षमुनिका २४ लाख बालबालिकालाई जुकाको औषधि खुवाईने छ।

यस्तै ६ महिनादेखि दुई वर्षभित्रका चार लाख बालबालिकालाई बालभिटा खुवाइने र पाँच वर्षमुनिका २७ लाख बालबालिकाको पाखुराको नाप लिइने छस्वास्थ्य मन्त्रालयले जनाएको छ। बालबालिकाको पोषणको स्थिति पत्ता लगाउन पाखुराको नाप लिइने गरिन्छ।

स्वास्थ्य सेवा विभाग, पोषण शाखाका अनुसार भिटामिन ए कार्यक्रमका लागि ७ सय ५३ वटै पालिकाका ५२ हजार बुथमा त्यही संख्यामा स्वास्थ्यकर्मी परिचालन गरिएको छ। संविधानमा भएको व्यवस्था अनुसार यो कार्यक्रम हाल स्थानीय तह मातहत गइसकेको र स्थानीय तहले विगतका वर्षमा राष्ट्रिय प्राथमिकता प्राप्त कार्यक्रम सफलतापूर्वक सञ्चालन गरिरहेको मन्त्रालयले जनाएको छ।

यो कार्यक्रमका लागि झण्डै तीन करोड ५० लाख बजेट विनियोजन गरिएको छ। सन् १९९३ देखि भिटामिन ‘ए’ कार्यक्रम शुरुआत भएको थियो। विगत २६ वर्षमा कार्यक्रमले सकारात्मक प्रभाव परेको र भिटामिन ‘ए’ कार्यक्रमले पाँच वर्षमुनिका बालबालिकाको समग्र स्वास्थ्यमा सुधार आएको सरकारको निश्कर्ष छ।