गोर्खा ब्रुअरीको ८८ करोड कर प्रकरणमा न्यायाधीश शाही बर्खास्त

गोर्खा ब्रुअरीको ८८ करोड कर प्रकरणमा न्यायाधीश शाही बर्खास्त
आइतवार, कार्तिक ३, २०७६

काठमाडौं–गोर्खा ब्रुअरीको ८८ करोड बढी कर छलिको विषयलाई लिएर छानबिनमा तानिएका उच्च अदालत पोखराका न्यायाधीश नरबहादुर शाही बर्खास्तीमा परेका छन् ।

क्षेत्राधिकार मिचेर फैसला गरिएको मुद्दामा न्यायाधीश शाहीको खराब आचरण देखिएको भन्दै उनी बर्खास्तीमा परेका हुन् । यस अघि यही मुद्दामा दुईजना न्यायाधीशले राजीनामा दिइसकेका छन् ।

काल्सवर्ग, टुवोर्ग, गोर्खालगायत वियर उत्पादन गर्ने कम्पनी गोर्खा ब्रुअरीको करछली प्रकरणमा उच्च अदालत पोखराका न्यायाधीश नरबहादुर शाहीलाई न्यायपरिषद्ले बर्खास्तीको सिफारिस गरेको छ ।

सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा गठित कार्यदलले न्यायाधीश शाहीको क्षेत्राधिकारसहित अन्य गतिविधि पनि अनुसन्धान गरिएको न्याय परिषदका प्रवक्ता मानबहादुर कार्कीले बताए ।

कार्कीका अनुसार शाहीको कार्यगत गतिविधि, आचरण र कार्यक्षमता हेर्दा आचरण अनुसार नभएकाले बर्खास्तीका लागि सिफारिस गरिएको हो ।

गोर्खा ब्रुअरीको करसम्बन्धी मुद्दाबारे क्षेत्राधिकार मिचेर सुनुवाइ गरेको मुद्दामा न्यायाधीश शाहीको खराब आचरण देखिएको भन्दै परिषद्ले सेवाबाट बर्खास्तको सिफारिस गरेको हो ।

परिषदको सिफारिसपछि प्रधानन्यायाधीशले न्यायाधीश शाहीलाई बर्खास्त गर्नेछन् । उच्च अदालतको हेटौंडा इजलास वा सर्वोच्च अदालत आउनुपर्नेमा क्षेत्राधिकार नपर्ने उच्च अदालत पोखराले मुद्दा हेर्नु त्रुटिपुर्ण भएको परिषद्को ठहर छ ।

यो विषयमा सर्वोच्च अदालतले गत साउन ९ गते उच्च अदालतका न्यायाधीशहरू जीवनहरि अधिकारी, नरबहादुर शाही र रामचन्द्र यादवलाई न्यायपरिषद्मा झिकाई छानबिन गर्न आदेश दिएको थियो।

आदेशपछि सर्वोच्चकी न्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा छानबिन टोली गठन भएको थियो ।

छानबिन समिति गठन भएपछि न्यायाधीश रामचन्द्र यादव र जीवनहरि अधिकारीले भने पदबाट राजीनामा दिएका थिए ।

गोर्खा ब्रुअरीले अहिले पनि ८७ करोड १४ लाख ९७ हजार ५ सय ७८ रुपैयाँ कर तिरेको छैन । बरु पैसा र शक्तिका आडमा उन्मुक्ति पाउने असफल प्रयासमा गरिरहेको छ ।

यो विषयमा गोर्खा ब्रुअरीका प्रतिनिधीले भने प्रतिक्रिया दिन मानेनन् ।