सरकारी अस्पतालमा मौसमी विरामीको चाप : व्यवस्थापन अभावले अस्तव्यस्त सेवा

सरकारी अस्पतालमा मौसमी विरामीको चाप : व्यवस्थापन अभावले अस्तव्यस्त सेवा
सोमवार, कार्तिक ४, २०७६

सोनी शाही
काठमाडौँ– मौसरी परिवर्तनसँगै काठमाडौंमा रुघाखोकी, ज्वरो, झाडापखाला, भाइरल इन्फ्लुएन्जा र विभिन्न सरुवा रोगको संक्रमणमा परेका बिरामीको संख्या बढिरहेको छ। दैनिक साढे दई सयभन्दा बढी बिरामी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पुग्ने गरेका छन्।

मौसमी परिवर्तनका समयमा लाग्ने यस्ता रोगका बिरामीको उपचारका लागि उचित प्रवन्ध नहुँदा थप समस्या उत्पन्न भएको छ। मौसम परिवर्तनका समयमा यसै पनि रोगको संक्रमण बढी हुन्छ। यसपटक पनि वर्षा सकिएर शरद ऋतु शुरु भएसँगै मौसम परिवर्तनकै कारणले मौसमी रोगीको संख्या बढ्न थालेको छ।

काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा पनि मौसमी बिरामीको संख्या बढेको अस्पताल प्रशासनले जनाएको छ। यी बिरामीको उपचारका लागि अस्पतालले उचित व्यवस्थापन गर्न सकेको छैन।

मौसमी रोगकै कारण आफ्नो परिवारको स्वास्थ्य जचाउन टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगेका गुणबहादुर लामा दिक्क थिए। ‘लाईन लागेरै दिन बित्छ, खै कहिले जचाउने होला,’ लामाको गुनासो छ ।

उपचार गराउन अस्पतालमा चाप बढी भएकाले समयमा उपचार गराउन नपाएको पिडा एकातिर छ भने अर्को तिर नाम लेखाउन र टिकट लिनमा नै सास्ती भोग्नु परेकोे छ । चेकजाँचका लागि अस्पताल जाँदा नाम दर्तामै ठूलो संघर्ष गर्नुपर्ने बिरामी तथा उनीहरुका आफन्तको गुनासो छ।

‘विरामी उपचारका लागि आउने हो, तर यहाँ टिकट काट्नसमेत संघर्ष गर्नुपर्छ,’ बिरामीका आफन्त सरोजप्रसाद पुडासैनीले भने, ‘अस्पताल प्रशासनलालाई गुनासो गर्दासमेत ध्यान दिदैन।’

सरुवा रोगको जाँच र राम्रो उपचार हुने भन्दै शुक्रराज अस्पतालमा जाने बिरामीको संख्या तुलनात्मक रुपमा बढी छ। तर, अस्पताल आएका बिरामीको सुविधाका लागि व्यवस्थापनले खासै चासो दिएको पाइँदैन।

बिरामीकोे यति धेरै गुनासो आएपनि अस्पतालका सूचना अधिकारी रुपनारायण खतिवडाले भने आवश्यकता अनुसार काम गरिरहेको दाबी गरे।

स्वास्थ्य क्षेत्रमा मात्रै प्रत्येक वर्ष नेपालमा ६० अर्बबढि बजेट बिनियोजन हुने गर्छ। त्यसको आधामात्र खर्च गर्ने क्षमता भएको सरकारले जनमुखी स्वास्थ्य सेवा सञ्चालनको नारा लगाउने गरेको छ।

तर, जनमुखी भनिएपनि धेरै कमिकमजोरी रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठको स्वीकारोक्ति छ। ‘जनमुखी स्वास्थ्य सेवा दिन नसक्नुको कारण जनशक्ति अभाव हो,’ प्रवक्ता श्रेष्ठले भने।

टेकु अस्पतालमा मौसमी रोगका बिरामीसहित डेंगु प्रभावितहरु पनि आउने गरेका छन्। उपचारका लागि अस्पताल आउँदा थप बिरामी हुने अवस्था आएको बिरामीको गुनासो छ।