नक्कली नोट छाप्ने मेसिन सहित काठमाडौंको बौद्धबाट तीनजना पक्राउ

नक्कली नोट छाप्ने मेसिन सहित काठमाडौंको बौद्धबाट तीनजना पक्राउ
सोमवार, कार्तिक ४, २०७६

काठमाडाैँ । सोमबार, प्रहरीले काठमाडौंको बौद्धबाट नक्कली नोट छाप्ने मेसिनसहित तीन जनालाई पक्रियो । महानगरीय प्रहरी बृत्त बौद्धका डिएसपी रमेश सिंहका अनुसार, प्रहरीले विशेष सुराकीका आधारमा नयाँबस्तीबाट तीन जनालाई पक्रिएको हो । उनिहरुका साथबाट प्रहरीले ३४ हजार बराबरको नक्कली नोट र नोट बनाउन तयार पारिएको करिव २ सय ९० वटा कागज, रंगीन फोटोकपी मेसिन सहित अन्य सामाग्री समेत बरामद गरेको छ ।

प्रहरीका अनुसार, पक्राउ पर्नेमा दोलखा जिल्ला मेलुङ गाउँपालिकाका राजन परियार, सन्तोष नेपाली र महेन्द्र नेपाली छन् । उनीहरुले काठमाडौंमा फ्याल्ट नै भाडामा लिएर नक्कली नोट छाप्ने गरेको खुलेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, पक्राउ परेका उनिहरुले विभिनन बहानामा नक्कली नोट बनाउँदै बजारमा पुर्‍याउँदै आएका थिए । उनीहरुले अहिलेसम्म ६० हजार रुपैयाँ बराबरको नक्कली नोट बजारमा पुर्‍याईसकेको प्रहरी समक्ष स्वीकारेका छन् ।

यो घटना त प्रतिनिधिमुलक उदाहारण मात्र हो । प्रहरीको अनुसन्धान अनुसार, पछिल्लो समय काठमाडौं शहर र वीरगञ्ज नाका आसपास कारोबारीहरुले मेसिन नै राखेर नक्कली नोट छाप्ने काम गरिरहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीको तथ्याङ्क अनुसार, पछिल्लो डेढ बर्षको अवधिमा काठमाडौंबाट मात्र ७ पटक गरी करोडौं रुपैयाँ नक्कली नोट बरामद् भइसकेको छ ।

अनुसन्धान अनुसार, काठमाडौंबाट अहिले सम्म नक्कली नोट सहित पक्राउ परेका उदाहारण हेर्दा यसमा संगठीत रुपमा नै गिरोहहरु सक्रिय छन् । विशेष गरी महत्वकांक्षी युवाहरु संगठीत भएर यसको कारोबारमा लागेका छन् ।