नेपालीमा भन्दै आएका प्रधानमन्त्रीले अंग्रेजीमा भने ‘अब नो स्ट्रिट पिपल’

नेपालीमा भन्दै आएका प्रधानमन्त्रीले अंग्रेजीमा भने ‘अब नो स्ट्रिट पिपल’
सोमवार, कार्तिक ४, २०७६

काठमाडौँ-  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका कुनै पनि सडकका पेटीमा ‘सडक मानिस’ देख्न नपर्ने बताएका छन्। यस अघि सडकमानव मुक्त देश भन्ने गरेका प्रधानमन्त्रीले मिति नतोककी यही कुरा दोहोर्‍याएका हुन्।

सोमबार दिउँसो नागढुंगा-नौबिसे सुरुङ मार्ग शिलान्यास कार्यक्रम बोल्दै उनले सडकमा जिंग्रिङ्ग भएर अब कोही पनि बस्न नपर्ने बताए।

‘अब सडकमा कोही पनि सुतेको, जिंग्रिङ्ग भएर बसेको देख्नु पर्दैन। सडकमा मान्छे हुनै सक्दैन । हरेकको व्यवस्था गरिन्छ। आवास दिइन्छ,’ प्रधानमन्त्रीले अंग्रेजी मिसाउँदै भने, ‘अब नो स्ट्रिट पिपल।’

प्रधानमन्त्री ओलीले सडकमा सडक बालबालिका पनि देख्न नपर्ने बताए। सरकारले सडक बालकालिकाहरुलाई भएसम्म आफ्नै घरका व्यक्तिलाई जिम्मा लगाउने र घरको ठेगाना नभएका बालबालिकालाई सरकारले जिम्मा लिने बताए।

‘कोही पनि नभएका बालबालिकाको जिम्मा सरकारले लिन्छ। लालनपालन, शिक्षा सरकारले दिन्छ र योग्य नागरिक बनाउँछ,’ प्रधानमन्त्रीले थपे, ‘ यो जिम्मा सरकारकै हो।’