राष्ट्रपति भण्डारीले दिइन् जापानबाटै भारतीय राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो

भारतीय राष्ट्रपतिबाट नेपाल भ्रमणको ईच्छा

राष्ट्रपति भण्डारीले दिइन् जापानबाटै भारतीय राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो
मङ्लबार, कार्तिक ५, २०७६

टोकियो- जापानका सम्राट् नोरुहितोको गद्दी आरोहण विशेष समारोहमा सहभागि हुन जापान भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका राष्ट्रपति रामनाथ कोविन्दबीच आज बिहान भेटवार्ता भएको छ।

दुबै राष्ट्रपतिका लागि जापानले व्यवस्था गरेको होटलमा  भेटवार्ता भएको हो। राष्ट्रपति भएपछि भएको पहिलो भेटमा राष्ट्रपति भण्डारीले कोविन्दलाई नेपाल भ्रमणको निम्ता दिनुभएको छ।

भारतीय राष्ट्रपति कोविन्दले आफूलाई नेपाल भ्रमण गर्न निमन्त्रणा दिएकामा राष्ट्रपति भण्डारीलाई धन्यवाद व्यक्त गर्दै भ्रमणको निमन्त्रणा स्वीकारी कूटनीतिक तहबाट भ्रमणको व्यवस्था मिलाइने जानकारी दिए। सन् २००६ मा सांसद हुँदा भने कोविन्दले नेपाल भ्रमण गरिसकेका छन्।

आयोजनाहरु छिट्टै बन्ने

भेटवार्ताका अवसरमा दुवै पक्षबाट नेपाल भारत सम्बन्ध सन्तोषजनक रहेको भन्दै यसलाई अझ व्यापक, गहन र बहुआयामिक बनाइने प्रतिबद्धता जाहेर गरेका छन्। भारतबाट सहयोग प्राप्त आयोजनाहरुले नेपालमा तीव्रता पाएकाबारे छलफल हुनाका साथै पेट्रोलियम पाइपलाइन निर्धारित समयभन्दा छिटो बन्नु नमूनायोग्य काम भएको भेटवार्तामा उल्लेख गरिएको भेटमा सहभागि पर्रराष्ट्र सचिव शङ्करदास वैरागीले जानकारी दिए।

दुवै पक्षले अन्य आयोजना पनि छिट्टै बन्ने विश्वास व्यक्त गरेको सचिव बैरागीले बताए। दुवै देशका प्रधानमन्त्रीहरुको गत वर्ष अप्रिल र जुनमा भएको भेटघाटपछि अरुण तेस्रो, पञ्चेश्वर, हुलाकी सडक, एकीकृत भन्सार जाँचचौकी, रेल्वे आदि परियोजनाले तीव्रताका साथ गति लिएको जनाइएको छ।

नेपालले गुरुनानकको जन्मजयन्तीमा तीन थरि सिक्का निष्काशन गरेकामा भारतका तर्फबाट राष्ट्रपति कोविन्दले नेपाललाई धन्यवाद दिएका छन्।

सो अवसरमा नेपालका तर्फबाट गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी, जापानका लागि नेपालका राजदूत प्रतिभा राणा, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी एवं भारतीय पक्षबाट विदेश सचिव विजय गोख्ले, जापानका लागि भारतीय राजदूत सञ्जय वर्मालगायत सहभागी थिए।