पशुपति आर्यघाटमा शवदाहको काम नै रोकेर आन्दोलन गरेका कामदारसँग भयो सहमति

पशुपति आर्यघाटमा शवदाहको काम नै रोकेर आन्दोलन गरेका कामदारसँग भयो सहमति
बुधबार, कार्तिक ६, २०७६

काठमाडौं । पशुपति आर्यघाटमा शवदाह गर्ने कामदारको आन्दोलन फिर्ता भएको छ । सेवा, सुविधा वृद्धिको माग राखेर बुधबार बिहान ६ बजेदेखि कामदारले शव जलाउन, दाउरा ओसार्न र खाल्डो खन्ने काम ठप्प पारेका थिए ।

आन्दोलनरत कामदार र पशुपति क्षेत्र विकास कोषबीच भएको वार्तापछि सेवा सुविधा वृद्धि गर्ने सहमति भएको छ । सहमतिपछि उनीहरुको आन्दोलन समेत फिर्ता लिएका छन् ।
सहमतिअनुसार एउटा शव जलाएबापत कामदारले एक हजार दुई सय रुपैयाँ पाउँदै आएकोमा एक हजार पाँच सय रुपैयाँ पुर्‍याइएको छ भने अवकाश हुँदा एक लाख ५० हजार रुपैयाँ पाउने गरेका कामदारले अबदेखि पाँच लाख रुपैयाँ पाउने सहमति भएको छ ।

त्यसबाहेक औषधि उपचारका लागि पाँच हजार रुपैयाँ खर्च पाउँदै आएका कामदारले अब पन्ध्र हजार रुपैयाँ पाउनेछन् । दुई लाख रुपैयाँ बराबरको बीमा गर्ने पनि सहमति समेत भएको छ ।