प्रधानमन्त्री ओलीलाई अवरोध : रन वे मै सर्वसाधारणले गरे भीभीआईपी उडानको प्रतिवाद

प्रधानमन्त्री ओलीलाई अवरोध : रन वे मै सर्वसाधारणले गरे भीभीआईपी उडानको प्रतिवाद
आइतवार, कार्तिक १०, २०७६

काठमाडौै- प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको बाकुबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिंदा नियमीत उडान तथा अवतरण बन्द गरिएपछि सर्वसाधारणले त्यसको  प्रतिवाद गरेका छन् । असंलग्न  राष्ट्रहरुको सम्मेलनमा भाग लिएर फर्किएका प्रधानमन्त्री ओलीलाई बिमानस्थलबाट हुने उडान तथा अवतरण बन्द गरिएको सर्वसाधारणले विरोध गरेका हुन्।

हेर्नुहोस भिडियो

प्रधानमन्त्री यही कात्तिक ७ गते अजरबैजान जाँदा पनि अन्तराष्ट्रिय विमानस्थलमा उडान तथा अवतरण बन्द गरिएको थियो।  चार दिने भ्रमण सकेर स्वदेश फर्किदा पनि प्रधानमन्त्रीको सुविधाका लागि अन्तराष्ट्रिय विमानस्थलबाट हुने सबै उडान तथा अवतरण ठप्प पारिएपछि विरोध भएको हो।

तिहार मान्न महंगो मुल्यमा हवाई टिकट काटेर उडान तथा अवतरणको पालो पर्खेर बसेका सर्वसाधारण झण्डै एक घण्टा विमानभित्रै थुनिएपछि एकाएक तत्काल उडान गर्न माग गर्दै त्यस बिरुद्ध उत्रिएका थिए । सर्वसाधारणले विमानबाट बाहिर धावन मार्गमा निस्केर त्यसको प्रतिवाद गर्न थालेपछि सुरक्षाकर्मीले आन्तरिक टर्मिनलका हवाई यात्रुलाई केहिवेर थुमथुम्याएको थियो।

यात्रुहरु राखेर रनवेतर्फ जाँदै गरेको जहाजको इन्जिन नै बन्द गर्न सुरक्षाकर्मीले निर्देशन दिइएपछि आक्रोशित यात्रुहरु बाहिर निस्किएका हुन्। धावनमार्ग मै स्थिति असामान्य भएपछि तत्काल प्रहरी परिचालन गरिएको थियो । विमानस्थल प्रशासनले भने सर्वसाधारणको विरोध र असुविधा बेवास्ता गर्दै ‘नोटाम’ जारी गरेको छ।

‘नोटाम’ भिभिआइपी उडान समयमा विमानस्थल कार्यालयले अन्य व्यावसायिक उडानमा प्रतिबन्ध लगाउने खास सूचना हो। ‘एयरम्यान टु नोटिस’ भनिने यस्तो सूचना विमानस्थल कार्यालयले उच्चपदस्थको उडानको समयमा निकाल्ने गर्छ।

विमानस्थल प्रशासनले जारी गरेको नोटाममा भीभीआईपी उडानलाई असर नपर्नेगरि केहीबेर विमान उड्न रोकिएको र घटना सामान्य भएको दावी गरेको छ। काठमाडौंबाट भद्रपुर उडान भर्न लागेको एस.एच.ए ९४१ कलसाइनको विमानका यात्रुहरु भी.भी.आई.पी उडानका कारण प्रभावित बनेका थिए।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयले, प्रधानमन्त्री केपी शर्मा ओलीको फिर्ती सवारी क्रममा भीभीआईपी मुभमेन्ट प्रभावित नहोस् भनेर श्री एयरलाइन्सको विमान रोकिएको र विमानस्थलले पहिल्यै नोटाम जारी गरिसकेको दावी गरेको छ।

यात्रुको बोर्डिङ पास प्रक्रिया सकेर उडानका लागि ठीक्क पारिएको विमानको ईन्जिन नै बन्द गराउन माथिको आदेश गएपछि विमानका कर्मचारी र यात्रुहरुबीच केहिवेर तँ–तँ, म–मसम्म भएको थियो। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयले भीभीआईपीको उडान सुरक्षाका नाममा यसैगरी निरन्तर आकाश तथा विमानस्थल बन्द गर्ने गरेको छ।

गतसाता राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमणको बेला, त्यसअघी चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणका क्रममा तथा प्रधानमन्त्री ओली शुक्रवार अजरवैजान जाने क्रममा पनि विमानस्थल प्रशासनले पुरै आकास खाली गराएको थियो।

काठमाडौ विमानस्थल भित्रै धावन मार्गमा आक्रोश पोखर भीभीआईपी उडानका नाममा भईरहेको ज्यादती बिरुद्ध सर्वसाधारण पहिलो पटक प्रतिवादमा त्रिएका हुन्।

यसअघि राष्ट्रपति विद्याभण्डारी म्यानमार र जापान जानेक्रममा हेलिकोप्टरबाट विमानस्थल जाँदा समेत सडक खाली गरिएको थियो। त्यही भिभिआइपी सवारीको शैलीप्रति सर्वसाधारणमा उठिरहेको आक्रोस आइतबा थप समस्यामा परेपछि सर्वसाधारणले पोखेका हुन्।