नेकपा अध्यक्ष प्रचण्डले गरे प्रदेश नम्बर–५ को राजधानी सर्ने संकेत

नेकपा अध्यक्ष प्रचण्डले गरे प्रदेश नम्बर–५ को राजधानी सर्ने संकेत
मङ्लबार, कार्तिक १९, २०७६

मधु पौडेल

बाँके- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्कमल दाहालले प्रदेश नम्बर–५ को राजधानी सर्ने संकेत गरेका छन् । नेकपा बाँकेले आयोजना गरेको चियापानमा सहभागि हुन पुग्नुभएका अध्यक्ष दाहालले पत्रकारसँगको कुराकानीमा राजधानी सबैलाई पायक पर्ने स्थानमा राख्नु पर्ने भन्दै विकसित ठाउँ नै चाहिन्छ भन्ने नभएको बताए ।

उनले राजधानी पहिला विकास भएका बजार क्षेत्रमै बनाउनुपर्छ भन्ने नभई नयाँ ठाउँमा पुर्वाधार विकास गरेर पनि बनाउन सकिने भन्दै बुटवलबाट राजधानी अन्यत्र सर्ने संकेत गरे। राजधानी कुनै आग्रह वा राजनीतिक नाफा घाटाबाट नभई प्रदेशको समग्र हितलाई हेरेर टुंगो लगाउने उनको भनाई छ।

अध्यक्ष प्रचण्डले सरकार परिवर्तनपछि प्रदेश प्रमुख नियुक्ति हुनु स्वभाविक भएको भन्दै प्रदेश प्रमुख नियुक्ति संवैधानिक नै भएको दावी गरे । प्रदेश प्रमुख सरकारको प्रतिनिधिको रूपमा काम गर्ने भएको बताउँदै उनले आफ्नो सरकार उदार भएकोले दुई वर्षसम्म काम गर्न दिएको बताए । सरकारको क्षेत्राधिकारका विषयमा ठुलो कुरा बनाएर बहस गर्न आवश्यक नरहेको उनको भनाई थियो ।

अध्यक्ष दाहालले प्रदेश प्रमुख नियुक्तिमा नेता माधवकुमार नेपाललेको फरक मत पनि स्वभाविक भएको बताए। नेपालले आफ्नोतर्फबाट प्रदेश प्रमुखका लागि नाम प्रस्ताव गरेको र नपरेपछि फरक मत राख्नु सामान्य भएको उनको भनाई थियो।