एमसीसीले बनायो ३ सय ११ रन

एमसीसीले बनायो ३ सय ११ रन
बुधबार, कार्तिक २०, २०७६

काठमाडौं । इंग्ल्याण्डको मेरिलिबोन क्रिकेट क्लब एमसीसीले तीन दिवसीय क्रिकेट खेलको पहिलो दिन ३११ रन बनाएको छ । टियू क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको एमसीसीले पहिलो दिन ८७ ओभरमा ६ विकेटको अवस्थामा खराब मौसमका कारण खेल रोकियो ।

पहिलो विकेटको रुपमा वेली गोल्डम्यानलाई १० रनमा पभेलियन पठाएका सोमपालले दोस्रो विकेटको रुपमा विल रोड्सलाई बोल्ड आउट गरे । विल रोड्स ७३ रन बनाएर आउट भएका हुन् । तेस्रो सफलता नेपालले ४३ औं ओभरमा टम वेस्लेलाई आउट गर्दै हात पारेको हो । शरदले ३९ रन बनाएका वेस्लेलाई पेभेलियन पठाए । शरदले व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो सफलता दिलाएका थिए ।

उनले अर्धशतक बनाएका हामोण्डलाई आउट गरे । हामोण्ड ५२ रनमा पेभेलियन फर्किए । पाँचौं विकेटको रुपमा सन्दीपले १५ रन बनाएका इडी योङलाई आउट गरे । छैठौं विकेटका रूपमा सन्दीपले ५३ रन जोडेर क्रिजमा जमेका विल भान्डरस्पर ७१ औं ओभरमा पविलियनको बाटो देखाएका हुन् । यासिर अराफात ३५ र एलेक्सले २२ रनमा अविजित रहे ।

करिब १४ बर्षपछि नेपालले घरेलु मैदानमा फस्ट क्लास क्रिकेट खेलेको हो । सन् २००५ मा नेपालले युएईविरुद्व त्रिवि मैदानमा तीन दिवसीय क्रिकेट खेलेको थियो । अन्तिम पटक नेपालले नामिबियाको मैदानमा घरेलु टोलीविरुद्व अन्तिम पटक फस्ट क्लास क्रिकेट खेलेको थियो । त्यसयता नेपालले फस्ट क्लास क्रिकेट खेलेको छैन ।