ठगीको आरोपमा व्यापारी रुपज्योतीलाई पक्राउ गर्ने बाटो खुल्यो

ठगीको आरोपमा व्यापारी रुपज्योतीलाई पक्राउ गर्ने बाटो खुल्यो
बुधबार, कार्तिक २०, २०७६

काठमाडौं । हाउजिङ व्यवसाय सञ्चालन गर्ने भन्दै सर्वसाधारणको रकम ठगेको आरोप लागेका व्यापारी रुपज्योतिलाई पक्राउ गर्न सर्वोच्चले बाटो खोलिदिएको छ ।

पूर्वअर्थ सहायक मन्त्रीसमेत रहेका चर्चित व्यापारी रुपज्योतिलाई ठगी मुद्दामा पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले दिएको आदेश कार्यान्वयन नगर्न माग गर्दै रूपज्योतिका तर्फबाट सर्वोच्चमा दायर भएको निषेधाज्ञासम्बन्धी रिट सर्वोच्चले खारेज गरिदिएको हो ।

यससँगै रूपज्योतिलाई पक्राउ गरेर अनुसन्धान अघि बढाउनू भन्ने जिल्ला अदालत काठमाडौंको आदेश सदर भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाश ढुंगानाको संयुक्त इजलासले रूपज्योतिको निषेधाज्ञासम्बन्धी रिट खारेज गरिदिएको हो ।

यसअघि सर्वोच्चले मुद्दाको अन्तिम किनारा नलाग्दासम्म रूपज्योतिलाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको थियो ।

निषेधाज्ञाको रिट खारेज भएसँगै रूपज्योतिलाई पक्राउ गर्न प्रहरीलाई बाटो खुलेको छ ।

यसैबीच महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेकाले रूपज्योतिलाई पक्राउ गरिने बताए ।