भारतले बनाएको राजनीतिक नक्सामा नेपालको खण्डन

भारतले बनाएको राजनीतिक नक्सामा नेपालको खण्डन
बुधबार, कार्तिक २०, २०७६

काठमाडौं । भारतले बनाएको राजनीतिक नक्सामा नेपाली भूमि राखेको भन्दै सरकारले खण्डन गरेको छ ।

परराष्ट्रमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भारत सरकारले निकालेको राजनीतिक नक्सा आफूहरुलाई मान्य नहुने स्पष्ट पारेको छ ।

सरकारले कालापानी नेपालको भूभाग भएको भन्दै भारत सरकारले हालै प्रकाशित गरेको नयाँ राजनीतकि नक्सा अस्वीकार्य भएको जनाएको हो । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा एकपक्षीय ढंगबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने समेत प्रष्ट पारेको छ ।

परराष्ट्रको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकार नेपालको अन्तर्राष्ट्रिय सिमाना रक्षाको लागि प्रतिबद्ध रहेको र दुई मित्र राष्ट्रहरुबीचको सीमा समस्याको समाधान ऐतिहासिक दस्ताबेज एवम तथ्य प्रमाणहरुको आधारमा कूटनीतिक माध्यमबाट हुनुपर्ने मान्यतामा दृढ छ ।’

नेपाल तथा भारतका परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगका बैठकहरुबाट दुई देशबीचका समाधान हुन बाँकी सीमासम्बन्धी समस्याहरुको समाधानका लागि प्राबिधिकहरुको सल्लाहमा दुवै देशका परराष्ट्र सचिवहरुले काम गर्ने जिम्मेवारी दिइएको समेत नेपालले स्मरण गराएको छ ।