अलैँचीको भाउ नपाउँदा किसान निराश

अलैँचीको भाउ नपाउँदा किसान निराश
फाइल तस्वीर
बिहिबार, कार्तिक २१, २०७६

बागलुङ- चार वर्षअघि जैमिनी नगरपालिका-१० राङ्खानीका किसानले सुकेको अलैँची प्रतिकिलो दुई हजार २ सय रुपैयाँमा बेच्थे ।

अलैँची व्यापारी खरिदका लागि किसानको घरघरै पुग्थे । राम्रो भाउ पाउँदा किसान खुशी थिए । अहिले अलैँचीको मूल्य घटेर प्रतिकिलो पाँच सय रुपैयाँ पुगेको छ । फलेको अलैँची पनि बेच्नै गाह्रो छ ।

उचित मूल्य नपाएपछि अलैँची किसान निराश छन् । राङ्खानी, माझगाउँका किसान मनबहादुर श्रीषले अलैँची खेतीबाट आफू निरुत्साहित बनेको प्रतिक्रिया दिए। ‘शुरुमा राम्रो भाउ पाएपछि उत्साहित भएर अलैँची खेतीतिर लागियो’, उनले भने, ‘अहिले त खर्च पनि उठ्न छोड्यो ।’

श्रीषले तीन रोपनी जग्गामा व्यावसायिक अलैँचीखेती गर्दै आएका छन् । यो वर्ष उनकोमा १०० किलो काँचो अलैँची उत्पादन भएको छ । उक्त अलैँची सुकाउँदा २५ किलो जति ठहर्ने श्रीषको भनाइ छ । काँचो अलैँची बेच्दा भने प्रतिकिलो १०० रुपैयाँ पर्छ । राङ्खानी, पाहीका अगुवा अलैँची किसान केदार शर्माले गाउँभरिको अलैँची खरिद गरेर बाहिर बेच्दै आएका छन् ।

राङ्खानीमा १५ बढी किसानले व्यावसायिक अलैँचीखेती गरिरहेका छन् । घरायसी प्रयोजनका लागि लगाउने किसानको सङ्ख्या भने धेरै छ । माझगाउँकै अलैँची किसान धनबहादुर रानाले मूल्य घटेपछि अलैँची खेतीको विस्तार रोकिएको बताए ।

मूल्य घटेपछि अलैँचीखेतीतर्फ किसानको आकर्षण घट्दो छ । अलैँची खेतीमा नयाँ किसान थपिन सकेका छैनन् । पाँच वर्षअघि अलैँचीका विज्ञ पारसमणि काफ्लेले राङ्खानीका किसानलाई अलैँची खेतीबारे सिकाएका थिए ।

अलैँचीको खेतीमा लाग्ने मेहनत र श्रम अनुसारको मूल्य पाउने वातावरण बन्नुपर्ने किसान बताउँछन् । रोप्नदेखि, गोडमेल, स्याहारसुसार, टिप्ने, सुकाउने आदि गर्दा किसानको ठूलो समय र श्रम अलैँची खेतीमा खर्च हुन्छ । ठूलो क्षेत्रमा लगाउने किसानले ज्यालामा मजदूर लगाएरै काम गर्नुपर्ने अवस्था छ । जैमिनी नगरपालिकाले राङ्खानीसहित वडा नं २, ३ दमेक र ९ पैँयूथन्थापलाई समेटेर अलैँचीको पकेटक्षेत्र बनाउने तयारी गरेको छ ।

राङ्खानीका किसानलाई अलैँची खेतीमा प्रोत्साहन गर्ने उद्देश्यले अलैँची प्रशोधन यन्त्रसमेत उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ । हालै दमेकका किसानलाई अलैँचीखेती सम्बन्धी तालीम र बिरुवा प्रदानस गरिएको छ । जैमिनी क्षेत्र अलैँचीखेतीको उपयुक्त मानिन्छ ।

सरकारले तोकेको मूल्यमा अलैँची बेच्न सके किसान पनि खुशी भएर उत्पादनमा लाग्ने कृषि ज्ञान केन्द्र, पर्वतका वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले बताए ।

भारतबाहेक अन्य मुलुकमा पनि अलैँची व्यापारका लागि सरकारले पहल गर्नुपर्ने उनको भनाइ छ। नेपालमा उत्पादित अलैँची पूर्वी नाका हुँदै भारत निर्यात हुने गरेको छ । भारतीय बजारमा पुग्ने नेपाली अलैँची मसला, सौन्दर्य सामग्री, आयुर्वेदिक औषधिलगायतमा प्रयोग हुने गरेको छ ।रासस