आलमको थुनछेक बहस नसकिएपछि प्रहरी हिरासतमै बास

आलमको थुनछेक बहस नसकिएपछि प्रहरी हिरासतमै बास
बिहिबार, कार्तिक २१, २०७६

रौतहट बम विस्फोट प्रकरणका मुख्य अभियुक्त मोमम्मद अफताब आलमको थुनछेक बहस शुक्रबार पनि जारी हुने भएको छ।

बिहीबार दिउँसोदेखि बहस शुरु भएपनि दालती समय सकिएपछि भोलि (शुक्रबार)का लागि बहस सारिएको जिल्ला अदालत रौतहटका श्रेस्तेदार गुणराज पराजुलीले जानकारी दिए ।

बिहीबार नेपाल सरकारका तर्फबाट ३ जना सरकारी वकिलले बहस गरे । बिहीबार महान्यायाधीवक्ताको कार्यालयबाट गएका सहन्यायाधीवक्ता सूर्यराज दाहाल, उपन्यायाधीवक्ता अर्जुनप्रसाद कोइराला र जिल्ला सरकारी वकिल कार्यालय रौतहटका जिल्ला न्यायाधीवक्ता खडिन्द्रराज कटुवालको बहस सकिएको छ।

अब बादी (नेपाल सरकार)का तर्फबाट २ जना सरकारी वकिलले बहस गर्न बाँकी रहेको श्रेस्तेदार पराजुलीले जानकारी दिए ।

आलमको तर्फबाट बहस गर्न भने २८ जना कानून व्यवसायीले आफ्नो वकालतनामा दर्ता गराएका छन् । यस्तै, जाहेरीकर्ता (पीडित) पक्षबाट बहस गर्नका लागि ९ जनाले वकालतनामा दर्ता गराएका छन्।

बिहीबार बहस नसकिएका कारण आलमलाई शुक्रबार बिहान १० बजे उपस्थित गराउने गरी पुनः प्रहरी हिरासतमा पठाइएको छ।