उपल्लो मुस्ताङमा हिउँ पर्न थाल्यो : सुरुभयो मौसमी बसाईसराई

उपल्लो मुस्ताङमा हिउँ पर्न थाल्यो : सुरुभयो मौसमी बसाईसराई
शुक्रबार, कार्तिक २२, २०७६

सन्तोष गौतम
मुस्ताङ- उपल्लो मुस्ताङमा शुक्रबार बिहानदेखि हिउँ पर्न थालेको छ। दामोदरकुण्ड लोघेकर र लोमान्थाङ गाउँपालिकामा यो वर्ष पहिलो पटक हिउँ परेको हो।

चराङ, मराङ, लोमान्थाङ, छोसेर र छोन्हुपमा हिउँ परेको दामोदरकुण्ड लोघेकर गाउँपालिका–१ चराङका वडाध्यक्ष टसी ढुण्डुक ठकुरीले बताउनुभयो। चराङमा बिहानसम्म पानी परेरहेको उनले बताए।

पानी र हिमपातका कारण चिसो बढेको छ। जनजीवन प्रभावित भएको छ। डाँडाहरुमा बाक्लो हिउँ जमेको छ। बस्तिमा दुई/तीन सेन्टिमिटर बाक्लो हिउँ जमेको छ।

चिसो र हिमपातका कारण निर्माणाधिन बेनी–जोमसोम–कोरला लगायत विकास आयोजनाहरु प्रभावित भएका छन्। चिसो छल्न उपल्लो मुस्ताङका बासिन्दाहरु बेशी झर्न थालेका छन्। उपल्लो मुस्ताङका बासिन्दा जाडो छल्नकै लागि पोखरा, काठमाडौ, चितवन, बुटवल लगायतका ठाउँमा जान थालेका छन्।

घरमा कुरुवालाई राखेर न्यानो ठाउँतर्फ गएका उपल्लो मुस्ताङका बासिन्दाहरु गर्मी बढ्न थालेपछि फागुनमा घर फर्कने गर्छन्। उनीहरु घुम्ति ब्यापार पनि गर्ने हुँदा व्यापारको सिजवन सकेर मात्र घर फर्कने गरेका छन्।