इरानमा ५ दशमलव ९ रेक्टरको भूकम्प, पाँच जनाको मृत्यु, ३ सय बढी घाइते

इरानमा ५ दशमलव ९ रेक्टरको भूकम्प, पाँच जनाको मृत्यु, ३ सय बढी घाइते
शुक्रबार, कार्तिक २२, २०७६

एजेन्सी । इरानको उत्तरपश्चिमी क्षेत्रमा भूकम्प जाँदा पाँच जनाको मृत्यु भएको छ ।

शुक्रबार इरानको इस्टर्न आजरबैजान प्रान्तको टार्क काउन्टीमा केन्द्रविन्दु बनाई पाँच दशमलव नौ रेक्टरको भूकम्प गएको हो । स्थानीय अधिकारीले भूकम्पमा परी तीन सय जना भन्दा बढी घाइते भएका जनाएको छ ।

गम्भीर घाइते भएका १३ जनाको अस्पतालमा उपचार भइरहेको छ । इरानको राजधानी तेहरानबाट चार सय किलोमिटर टाढा रहेको क्षेत्रमा भूकम्प गएको हो । अमेरिकी भौगोलिक सर्वेक्षण संस्था (यूएस जियोलोजिकल सर्भे) का अनुसार भूकम्पको केन्द्रविन्दुको गहिराई १० किलोमिटर रहेको थियो ।

भूकम्प गएपछि ४० पटक भन्दा बढी पराकम्पन गएको जनाइएको छ । भूकम्प प्रभावित क्षेत्रमा उद्धार गर्ने टोली परिचालन गरिएको छ । स्थानीय सञ्चारमाध्यमहरुले भूकम्पको केन्द्रविन्दु रहेको ठाँउका ३० वटा घरहरुमा क्षति भएको जनाएका छन् ।