ब्लुक्रस अस्पतालको उपचार : यसरी गयो विरामीको ज्यान

हड्डिको समस्या, नशाको शल्यक्रिया

ब्लुक्रस अस्पतालको उपचार : यसरी गयो विरामीको ज्यान
शुक्रबार, कार्तिक २२, २०७६

काठमाडौं- डेढ महिना अघि काठमाडौंको कपन बस्दै आएका ५३ बर्षीय शेरबहादुर केसी उपचारको लागि आफैं स्कुटर चलाएर त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा पुगेर भर्ना भए।

उनका आफन्तका अनुसार, केसीको हड्डिको समस्या थियो तर, उपचारमा संलग्न डाक्टरले नशाको शल्यक्रीया गरे। परिणामा उनको मृत्यु भयो।

लगत्तै अस्पतालको लापरवाहीको विरामीको मृत्यु भएको भन्दै केसीका आफन्तहरुले अस्पतालमा विरोध प्रदर्शन गरे। आफन्तको विरोधपछि अस्पतालले आफ्नो कमजोरी लुकाउन ठुलै प्रपञ्च रच्यो।

बिरामीको मृत्युमा अस्पतालको लापरबाही नभएको भन्दै शुरुमा बिरामीका आफन्तको माग सम्बोधन गर्न अटेर गरेको अस्पतालले अन्ततः गल्ती स्वीकार्दै पीडित परिवारलाई क्षतिपूर्ति रकम दियो।

अस्पताल तर्फका ५ जना र पीडित पक्षका ६ जना बसेर मिलापत्र भयो।  जसमा मृतक विरामीका आफन्तलाई ४ लाख १७ हजार दिने सहमती भयो।

अस्पालले कसरी गर्‍यो सहमती ?

सगरमाथा टेलिभिजनलाई प्राप्त सहमति पत्रको प्रतिलिपिमा, मृतकका परिवारले अस्पताल प्रशासनबाट क्षतिपूर्ति रकम बापत ४ लाख १७ हजार रुपैयाँ लिएको देखिन्छ।

यसबाहेक मृतक शेरबहादुर खत्रीको नावालक छोरालाई समेत अध्ययन वा अरु कस्तो सहयोग गर्ने भनेर पुनः छफल गर्ने समेत उल्लेख गरिएको छ।

सहमतिपत्रमा भनिएको छ, ‘मृतक शेरबहादुर खत्रीको नावालक छोराको अध्ययन गराउने सम्बन्धमा मृतकको काजकिरियाको अवधि १३ दिन सकिएपछि बच्चाको के कसरी सकरात्मक रुपमा आवश्यक पहल गर्न सकिन्छ तथा अध्ययन गराउने क्रममा कसरी सहयोग गर्न सकिन्छ भनेर पुन छलफल बसी दुबै पक्ष सहमति गर्ने।’

यसरी अस्पताल प्रशासनले आफ्नो कमजोरी लुकाउन बिरामीका आफन्तलाई रकमको प्रलोभनमा मृत्युको नै मिलापत्र गरेर हुनसक्ने कारबाहिबाट ब्लु क्रश अस्पतालले उन्मुक्ति पाएको छ।

तर, अस्पतालका सञ्चालक समितिका सदस्य रजत श्रेष्ठ भने यसमा अस्पतालको गल्ती नभएको दाबी गर्छन्। मृतकका परिवारलाई क्षतिपूर्ति रकम दिनुमा मानवीयता भएको उनको तर्क छ।

तर, अस्पतालले पीडितको माग बमोजिम मृतकका आफन्तलाई ४ लाख १७ हजार रकम दिनुमा मानवीयता भन्दापनि आफ्नो कमजोरीमा कारबाहिको भागिदार हुनु नपरोस् वा घटनाबाट उन्मुक्ति पाउने षडयन्त्र भएको प्रष्ट छ। यसरी अस्पतालले कारबाहीबाट बच्न चतुर बुद्धि लगाएको प्रष्ट हुँदाहुँदैं पनि नियमक निकाय भने मौन छ।

मृत्युको घटनामा मिलापत्र गराउन प्रहरीको समेत भूमिका हुने भएकाले यसतर्फ अनुसन्धान गर्ने स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादब बताउँछन्।

ब्लुक्रस अस्पताल मात्र होइन, बिरामीको मृत्य भएपछि त्यसलाई नगदमा लगेर मिलापत्र गराउने अधिकांश निजी अस्पतालहरुले नीति झैं बनाएका छन्।

केहीसमय अघि ग्राण्डी अस्पताल, ओम अस्पताल, सुमेरु अस्पताल लगायतका कर्ततुहरु सार्वजनिक भइरसकेका छन्। तर पनि स्वास्थ्य मन्त्रालयले भने यस्तो विषयमा खासै चासो दिएको पाइदैन।