व्यवसायी रुप ज्योतिकी छोरी सुरुची पनि पक्राउ

व्यवसायी रुप ज्योतिकी छोरी सुरुची पनि पक्राउ
शुक्रबार, कार्तिक २२, २०७६

काठमाडौं-ठगी आरोपमा पूर्व अर्थसहायक मन्त्रीसमेत रहेका व्यवसायी रुप ज्योति पक्राउ परेसँगै प्रहरीले उनकी छोरीलाई समेत पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले रुपज्योतिकी छोरी सुरुची ज्योतिलाई पक्राउ गरेको हो। रुप ज्योतिलाई महानगरी प्रहरी परिसरको टोलीले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।

त्यस लगत्तै उनकी छोरी सुरुचीलाई पनि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए।

हाउजिङका नाममा विभिन्न व्यक्तिसँग ठगी गरेको आरोपको मुद्दामा रूप ज्योतिलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले २०७५ मंसिरमा अनुमति दिएको थियो। त्यसविरुद्ध उनले मंसिर २४ गते सर्वोच्च पुगेर अन्तरिम आदेश लिएका थिए।

त्यसको २ वर्षपछि मंगलबार सर्वोच्चले रुप ज्योतिको विपक्षमा फैसला सुनाएको थियो। सर्वोच्चको फैसलासँगै प्रहरीलाई रुप ज्योति पक्राउ गर्न बाटो खुलेको थियो ।

यससँगै रूप ज्योतिलाई पक्राउ गरेर अनुसन्धान अघि बढाउनू भन्ने जिल्ला अदालत काठमाडौंको आदेश सदर भएको छ ।