आयोजनामा ढिला सुस्तिको विकल्प छ : ८ महिनामै सम्पन्न भयो १८ महिनाको योजना

आयोजनामा ढिला सुस्तिको विकल्प छ : ८ महिनामै सम्पन्न भयो १८ महिनाको योजना
आइतवार, कार्तिक २४, २०७६

सन्तोष गौतम
म्याग्दी- देशका हरेकजसो आयोजनामा ढिलासुस्तिका कारण खर्च र समय बरवाद हुने मात्र नभएर त्यही नाममा भ्रष्टाचार समेत हुने गरेको छ। तर, कतिपय त्यस्ता आयोजना यस्ता पनि छन्– जसको निर्माण समय भन्दा अगावै सम्पन्न भएर उदाहरणीय बनेका छन्।

त्यस्तै उदाहरणीय आयाेजना बनेको छ म्याग्दीको जिल्ला समन्वय समितिको सभाहल निर्माणको आयोजना। अठार महिनामा निर्माण सम्पन्न गर्नेै लक्ष्य राखिएको सभाहल आठ महिनामै सकिएपछि अहिले ‘ढिलासुस्तिको विकल्प छ’ भन्ने बहस सुरु भएको छ।

अठार महिनामा सम्पन्न गर्ने लक्ष्य राखीएको जिल्ला समन्वय समिति म्याग्दीको सभाहल निर्माणको काम आठ महिनामै पुरा भएको छ। गण्डकी प्रदेश सरकार, भौतिक पूर्वाधार मन्त्रालय अन्तरगतको सहरी विकास तथा भवन कार्यालय बागलुङले ठेक्का मार्फत भवन बनाएको हो।

२०७५ चैत १८ गते सम्झौता गरेको थानी–जयलक्ष्मी जेभीले सभाहलको भवन निर्माण गरेर जिससलाई हस्तान्तरण गरेको छ। अनुमान भन्दा २५ प्रतिशत घटेर ठेक्का लिएको ठेकेदार कम्पनीले भ्याट बाहेक एक करोड ६७ लाख रुपैयाँमा सम्झौता गरेको थियो। दुई तले भवनको भुई तलामा आठवटा कोठा र माथिल्लो तलामा सातसय जना क्षमताको सभाहल छ।

पर्याप्त मात्रामा मजदुर, उपकरण परिचालन, समयमै निर्माण सामग्रीको व्यवस्थापन तथा सम्बद्ध कार्यालयको सहयोगबाट लक्ष्य अघिनै भवन बनाउन सफल भएको निर्माण पक्षले जनाएको छ। निर्माणपछि जिसस सभाहल म्याग्दी जिल्लाकै ठूलो र सुबिधा सम्पन्न सभाहल बनेको छ।

तत्कालिन जिल्ला विकास समितिले द्वन्द्वोत्तर शान्ति तथा पुनःनिर्माण परियोजना अन्तरगत २०७३ असारदेखि निर्माण सुरु गरेको सभाहल शान्ति तथा पुनःनिर्माण मन्त्रालयको खारेजीसँगै बजेट व्यवस्थापन नहुँदा अलपत्र बनेको थियो।

एक करोड ४२ लाख रुपैयाँको लागतमा दुई तले भवनको जग हाल्ने, पिल्लर ठड्याउने र ढलानको काम गरिएको थियो। प्रदेश सरकारबाट थप बजेट व्यवस्थापन गरेर कोठा विभाजन, पलास्टर, फर्निचर, रंगरोगन, विद्युत, पानी जडान, शौचालय बनाई भवनलाई पूर्णता दिएको हो।

सभाहल बनेपछि सभा, समारोह, अधिवेशन, सम्मेलन तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न सहज भएको छ। सभाहल बनेपछि हलको अभावमा ठूला कार्यक्रमहरु सडक र चोकमा गर्नुपर्ने बाध्यता पनि हटेको छ।

जताततै ढिलासुस्तिको सिकार बनेका आयोजना र निर्माण पक्षका लागि म्याग्दीको जिसस सभाहल उदाहरण बनेको छ। व्यवसायीको इच्छाशक्ति, कार्यक्षेत्रमा काम गर्ने सहज वातावरण, सम्बद्ध कार्यालयबाट निगरानी र सहजीकरण भयो भने ढिलासुस्ति हटाउन सकिने जिसस म्याग्दीको भवन निर्माण योजनाले सन्देश दिएको छ।