मेलम्चि आयोजना निर्माण शुरु भएपछि उपत्यकाबासीमा आशा जाग्यो

मेलम्चि आयोजना निर्माण शुरु भएपछि उपत्यकाबासीमा आशा जाग्यो
आइतवार, कार्तिक २४, २०७६

काठमाडौं–बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सम्पन्न गर्ने जिम्मा पाएको चिनियाँ ठेकदार कम्पनीले काम शुरु गरेसँगै मेलम्चीले पुनः गति लिएको छ ।

चिनियाँ कम्पनीले अतिरिक्त समयमा काम गरेर भएपनि आउँदो असार मसान्तसम्म पानी सुन्दरीजल मुहानमा खसाल्ने प्रतिबद्धता जनाएको छ ।

इटालियन ठेकदार कम्पनी सीएमसीले निर्माणाधीन मेलम्ची खानेपानी आयोजनाबाट हात झिके पछि अन्योलमा परेको मेलम्ची आयोजनाको बाँकी काम चिनियाँ कम्पनी सिनो हाइड्रोले शुरु गरेसँगै तत्कालका लागि अन्योल हटेको छ ।

कम्पनीले ५० जना चिनियाँ र एक सय जना नेपाली कामदारबाट काम शुरु गरी सकेको छ । कम्पनीले आउँदो असार मसान्तभित्र पानी सुन्दरीजल खसाल्ले योजनाका साथ हप्ता दिन भित्र थप एक सय कामदार थपेर दुई सिफ्टमा काम गर्ने जनाएको छ ।

कम्पनीले मिति नै घोषणा गरेर काम शुरु गरेपनि मेलम्चीको पानी अबको छ महिनामा काठमाडौं आउनेमा विश्वस्थ हुनसक्ने आधार भने छैन । कामदारको रकम सीएमसीले भुक्त्तानी गर्न नसकेका कारण स्थानीय ठेक्दारले काममा जुनसुकै बेला अवरोध गर्न सक्ने संभावना जिवितै रहेको स्थानीय ठेकेदार विष्णुमणी आचार्य बताउँछन् ।

सीएमसीले स्थानीय ठेकेदार र सप्लायर्सहरुलाई करिब १ अर्ब ६६ करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको दावी सहित यस अघि मुहान क्षेत्रमा प्रदर्शन समेत भएको थियो । सँगसँगै स्थानीयबासी पनि सडक पूर्वाधार निमार्णमा भएको ढिलाईलाई लिएर आक्रोषित छन् । सिन्धुपाल्चोकको पानी काठमाडौं लैजांदा पानीको रोयल्टी बाँडफाँट, एक घर एक धाराको सुनिश्चिचता लगायतका माग गरिरहेका छन् ।

सिन्धुपाल्चोक २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य शेर बहादुर तामाङ र हेलम्वु गाँउपालीका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले स्थानीयको समस्या समाधान गर्न सम्बन्धित पक्षले चासो नदेखाएको भन्दै दुखेसो पोखेका छन् ।

मुहान क्षेत्र अनुगमनमा पुगेकी खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले स्थानीय जनताको माग सम्बोधन गर्न सरकार गम्भीर रहेको भन्दै खानेपानी आयोजनामा देखिएका समस्या समाधान गरी छिटो सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको दावी गरेकी छन् ।

मेलम्ची खानेपानी आयोजना अनुगमनका लागि पुग्नु भएकी प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिकासभापति कल्याणी खड्काले पनि स्थानीयको माग सम्बोधन गर्न समितिले पहल गर्ने बचन दिएकी छन् ।

सरकारले चालू आर्थिक वर्षभित्रै मेलम्चीको पानी काठमाडौं ल्याउने घोषणा नीति तथा कार्यक्रम मै गरेको छ । निर्धारीत समयमा काम सम्पन्न गरे बोनस दिने र ढिलो गरे जरिवाना भराउने गरी अहिलेको ठेकेदारसंग सम्झौता भएकाले पनि तोकिएको मिति मै मेलम्चीको पानी सुन्दरीजल मुहानमा मिसिने आसा पलाएको छ ।