भारतले सीमा मिचेर नक्सा बनायो, प्रचण्ड भन्छन् -अन्तराष्ट्रियकरण नगरौं

भारतले सीमा मिचेर नक्सा बनायो, प्रचण्ड भन्छन् -अन्तराष्ट्रियकरण नगरौं
सोमवार, कार्तिक २५, २०७६

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतले नेपालको भूमि उसको नक्साभित्र राखेको विषय अन्तराष्ट्रियकरण गर्न नहुने बताएका छन्।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

‘लिम्पियाधुरा महाकालीको मुहान हो, महाकाली सीमा नदी हो भन्ने प्रष्ट रहेको छ। यसमा कुनै कन्फ्युजन छैन,’ प्रचण्डले भने, ‘प्राप्त प्रमाणहरु संकलन गरेर भारत सरकारसँग गम्भीर वार्ताबाट समाधान निकाल्नुपर्छ।’

उनले उत्तेजनामा आएर समस्याको समाधान ननिस्कने भन्दैस‌सदीय समितिले पनि सरकारलाई परिपक्व निर्देशन दिनुपर्ने बताए।

‘अन्तराष्ट्रिय समितिले सरकारले उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक पहल गर्नुपर्छ भन्नुपर्‍यो,’ उनले भने, ‘कुरा मिलेन भने अन्तराष्ट्रियकरण गर्ने हो, अहिले बाहिर भन्न हुँदैन।’

कालापानी र सुस्तामा सीमा समस्या छ भनेर दुबै देशले स्वीकार गरेको भन्दै प्रचण्डले, ‘हामी एक इन्च जमिन छोड्न पनि सक्दैनौं, अरुको एक इन्च जमिन पनि चाहिएन’ भन्ने मान्यतामा उभिनुपर्ने बताए।

उच्चस्तरीय राजनीतिक र कूटनीतिक पहलमार्फत भारतसँगको सीमा विवाद मिलाउनुपर्ने उनले बताए।

‘तर, यस विषयमा उत्तेजना वा भ्रम फैलाएर समस्या सामाधान हुँदैन,’ प्रचण्डले तर्क प्रस्तुत गरे।