बंगलादेशलाई हराउँदै नेपाल फाइनलमा

बंगलादेशलाई हराउँदै नेपाल फाइनलमा
मङ्लबार, कार्तिक २६, २०७६

काठमाडौं- नेपाल बंगलादेशमा जारी एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

ढाकामा मंगलबार भएको खेलमा आयोजक बंगलादेशलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपाल एक खेल अगाबै उपाधि नजिक पुगेको हो ।

शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा भएको खेलमा नेपालले बंगलादेशलाई २५-७, २५-६ र २५-६ ले पराजित गर्‍यो ।

यस अघि नेपालले पहिलो खेलमा अफगानिस्तान र दोस्रो खेलमा किर्गीस्तानलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो ।

अब नेपालले अन्तिम खेलमा बुधबार बलियो टिम माल्दिभ्सको सामना गर्ने छ ।

राउण्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष दुई टिम उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

तेस्रो र चौथो हुने टिमले तेस्रो र चौथो स्थान हासिलका लागि प्रतिस्पर्धा गर्नेछन् ।