‘दराज अनलाइन’ सपिङको कर्तुत : आकर्षक भ्रम छरेर उपभोक्तामाथि ठगी

वाणिज्य विभागले शुरु गर्‍यो छानविन

‘दराज अनलाइन’ सपिङको कर्तुत : आकर्षक भ्रम छरेर उपभोक्तामाथि ठगी
मङ्लबार, कार्तिक २६, २०७६

काठमाडौं । धेरै ग्राहकहरुले अनलाइन सपिङ गर्दै गर्दा सम्झने नाम हो–दराज अनलाइन । जसले भाँडाकुँडा, कपडा, गरगहना, मोबाइल लगायतका सामानहरु अनलाइन मार्फत बिक्री गर्दै आएको छ ।

नोभेम्बर ११ का दिन ११/११ लाई दराज अनलाइनले वल्र्ड विगेष्ट अनलाइन ‘सेल डे’का रुपमा बृहत ब्यापार गर्‍यो । तर, कतिपय ग्राहकहरुलाई दराज अनलाइनमार्फत बिक्रेताले लुट धन्दा मच्चाएको बिषयमा जानकारी नै भएन ।

दराज अनलाइनको एप डाउनलोड गरेर वा सिधै अनलाइन मार्फत वस्तु किन्नेहरु ठगिएको भन्दै गुनासो पोख्न थालेका छन् । त्यस्तै मध्यका एक हुन्–डाक्टर समीरमणी दिक्षीत । उनले सोमबार आफ्नो ट्वीट मार्फत दराजले ठग्न खोजेको गुणासो गरेका छन् ।

उनले ट्वीटमा लेखेका छन्-दराज अनलाईन सपिङमा ठगी प्रत्यक्ष अनुभव गरियो । बेच्ने सामानसँग फ्रीमा अर्को सामान पनि पाइन्छ भनेर वेभसाईटमा विज्ञापन छ, तर सामान बुक गर्ने बेला थाहा भयो की फ्री वाला सामान सकिएको रहेछ, र थप पैसा हालेर किन्नुपर्ने रे । तुरुन्त क्यान्सिल गरियो अर्डर । सबै जना समाधान हुनु है ।

यतिमात्र होइन माइसन्सार नामक ब्लगमार्फत पनि एकजना ग्राहकले आफू दराज अनलाइनबाट ठगिएको गुनासो गरेका छन् । उनले भनेका छन्-डिफेक्टिभ भएको सामान नियम अनुसार किनेको ७ दिनभित्र फिर्ता गर्दासमेत म दराज अनलाइनबाट ठगिएको छु । यति मात्र होइन प्रदीप अधिकारीले अन्य स्थानमा १ हजार १ सय ६० रुपैयाँ पर्ने घडीलाई दराज अनलाइनले ११-११ स्पेसलमा १ हजार ९ सय ८४ मूल्य राखेको भनेर सामाजिक सञ्जालमा राखेका छन् । यसरी तोकिएको मुल्यभन्दा बढी मुल्य लिइनु सरासर ठगिभएको उपभोक्ता अधिकारकर्मी माधव तिम्सिना बताउँछन् ।

भिडियो हेर्नुहोस्

यो बिषयमा बुझ्न सगरमाथा टेलिभिजनको टोली काठमाडौंको गैरीधारास्थित दराज अनलाइनको कार्यालय पुग्यो । तर, कर्मचारी मार्फत समय अभाव देखाउँदै दराज केमु प्रा.लीका प्रमुख लिनो एड्रिनले भेट्न मानेनन् ।

दराज अनलाइनको ठगीको विषयमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा उजुरी पुगेको छ । विभागका निर्देशक नोखबहादुर बस्याल अनुसन्धान भइरहेको र ठगी प्रमाणित भएमा कानून अनुसार कारवाही हुने बताउँछन् ।

कुनैपनि सामानमा तोकिएको मुल्य भन्दा बढी मुल्य लिन पाईंदैन यदि त्यस्तो भेटाइएमा उपभोक्ता संरक्षण ऐन २०७५ मा जरिवानादेखि कैद सजायको प्रष्ट व्यवस्था गरिएको छ । तर, दराज अनलाइनको कारोबारमा सरोकारवाला निकायले चासो नदिंदा उपभोक्ता भने ठगिन बाध्य छन् ।

यो पनि पढ्नुहोस्

‘दराज अनलाइन’ले सपिङका नाममा यसरी मच्चाउँदैछ लुट धन्दा !