कञ्चनपुरको प्यारा ताल भारतीयको कब्जामा

कञ्चनपुरको प्यारा ताल भारतीयको कब्जामा
बुधबार, कार्तिक २७, २०७६

दिनेश विष्ट

कञ्चनपुर- कञ्चनपुरको पुर्नवास नगरपालिकामा रहेको प्यारातालमा भारतीय पक्षले डेढ दशकदेखि कब्जा जमाएको छ । २०६२/०६३ सालसम्म नेपाली भूमिमा पर्ने उक्त तालको नेपालीहरुले नै भोगचलन गर्ने गरेका थिए । तर, भारतको दुधवा राष्ट्रि निकुञ्जका जनावरको पानी पिउने सहजताका लागि भन्दै भारतले कब्जा जमाउन थालेको हो ।

१९४ नम्बर सीमा स्तम्भदेखि १९५ को बीचमा पर्ने ५ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त तालमा भारतको दबदबा बढ्दै गएको छ । भारतले सीमामा ज्यादती बढाएर नेपाली भूमिमा रहेको प्यारातालमा आफुले माछा मार्ने र नेपालीलाई जानसमेत रोक लगाउने गरेको पुर्नवास नगरपालिका ९ का कुबेर नाथले बताए ।

बिगतमा नेपालीले नै ठेक्का लिएर माछा मार्ने गरेपनि अहिले नेपालीहरुले तालसम्म पुग्नसमेत नपाउने अवस्था छ । ताल क्षेत्रभन्दा १ किलोमिटर भारततर्फ नेपालकै भूभाग छ तर, भारतीयले प्यारा ताल आएर कब्जा गरेको स्थानीयले गुनासो छ ।

स्थानीयले बिगतमा भएका सीमा सर्भे टोलीले गम्भीर त्रुटी गरेको हुनसक्ने भन्दै तत्काल नयाँ सर्भे गर्नुपर्ने बताउँछन् पुर्नवास नगरपालिका ९ की आरती नेपाली बताउँछिन् ।

अहिले त्यस्तो अवस्था भँएपनि केही बर्ष अघिसम्म उक्त प्याराताल नेपालीले नै भोग चलन गर्दै आएका थिए । अहिले भारतले उक्त क्षेत्रमा जान समेत नदिएपछि पर्यटकीय रुपमा समेत रमणीय रहेको प्यारा कुरुप बनेको छ ।

उक्त क्षेत्रमा सीमा विवाद बढी रहेकाले संयुक्त सीमा सर्वेको टीमले समेत काम गर्न नसकेको जनप्रतिनिधीहरु बताउँछन् । भारतीय पक्षले दिनप्रतिदिन सिमा मिच्दै जाँदासमेत सरकारले ध्यान नदिएको भन्दै जनप्रतिनिधी नै आक्रोसित छन् ।

भारतसँग सीमा जोडिएका सीमावर्ती नेपाली बस्तीमा भारतको ज्यादतीले नागरिकको ज्यानसमेत जानेगरेको छ । कञ्चनपुरमा त झन् कहिले भारतीय निकुञ्जका जनावरको आक्रमण त कहिले भारतीय एसएसवीको गोलीले नेपालीको मृत्यु हुने गरेको छ ।

यति हुदाँसम्म पनि उदाशिन बनेको भन्दैसरकारलाई नागरिक संरक्षणको दायित्व लिन सिमाक्षेत्रका नागरिक ध्यानाकर्षण गरिरहेका छन् ।