स्थानीय तहको उपनिर्वाचन : उम्मेदवारी दर्ता गरीयो

स्थानीय तहको उपनिर्वाचन : उम्मेदवारी दर्ता गरीयो
बुधबार, कार्तिक २७, २०७६

काठमाडौं- आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि बुधबार स्थानीय तहको रिक्त पदका लागि मनोनयन दर्ता हुँदै छ।  बिहान १० देखि दिउँसो १ बजेसम्म मुख्य र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता भएका छन्।

एक नगरप्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक गाउँपालिका उपाध्यक्ष र ४३ वडाध्यक्षका लागि उपनिर्वाचन हुँदै छ। निर्वाचन आयोगले उपमहानगरपालिका प्रमुखको लागि साढे ५ लाख, वडा अध्यक्षका लागि साढे २ लाख, नगरपालिकाको वडा अध्यक्षका लागि २ लाख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षका लागि साढे ३ लाख र वडा अध्यक्षका लागि डेढ लाख रुपैयाँ खर्च सीमा तोकेको छ।

१६ नयाँ दर्ता भएका दलसमेत १ सय १ दलले उपनिर्वाचनमा भाग लिँदैने जानकारी गराएको आयोगले जनाएको छ। प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उपनिर्वाचनका लागि कात्तिक २१ गते नै मनोनयन दर्ता गरी आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिसकेको छ।उनीहरुलाई आयोगले चुनाव चिह्नसमेत वितरण गरिसकेको छ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा ९५ दल र स्थानीय तहको सदस्यको पदमा ७८ दलले उपनिर्वाचनमा भाग लिने आयोगले जनाएको छ। ०७४ को निर्वाचनपछि थपिएका १६ हजार २ सय १९ मतदाताले मतदान गर्न पाउनेछन्। आयोगका अनुसार यो उपचुनावमा कुल मतदाताको संख्या ४ लाख ५४ हजार १ सय १४ छ। २ सय ४७ मतदान स्थल र ५ सय ३७ मतदान केन्द्र तोकिएका छन्।

मंसिर १४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य तथा स्थानीय तहका विभिन्न पदाधिकारी गरी ५२ पदका लागि उपनिर्वाचन हुँदैछ।एक प्रतिनिधिसभा सदस्य, तीन प्रदेशसभा सदस्य, एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ४३ वडाध्यक्ष पदका लागि उपनिर्वाचनको हुन लागेको हो।

कास्की निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन हुँदैछ भने प्रदेशसभातर्फ भक्तपुर निर्वाचन क्षेत्र नम्बर-१ (क), बागलुङ निर्वाचन क्षेत्र नम्बर-२ को (ख) र दाङ निर्वाचन क्षेत्र नं ३ (ख) मा उपनिर्वाचन हुदैछ।

स्थानीय तहतर्फ सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुख, पाँचथरको फाल्गुनन्द, सङ्खुवासभाको मकालु, महोत्तरीको पिपरा गाउँपालिकाका अध्यक्ष तथा हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पदका लागि मंसिर १४ गते उपनिर्वाचन हुदैछ।