काठमाडौमा बसोवास गर्ने मधेसी तथा थारु समुदायले समाचकेवा पर्व मनाए

काठमाडौमा बसोवास गर्ने मधेसी तथा थारु समुदायले समाचकेवा पर्व मनाए
बुधबार, कार्तिक २७, २०७६

काठमाडौमा बस्दै आएका मध्य तराईका मधेसी तथा थारु समुदायका सर्वसाधारणहरुले बुधबार काठमाडौंमा समाचकेवा पर्व मनाइएका छन् ।

सांस्कृतिक भेषभूषामा सजिएका उनीहरुले बुधबार काठमाडौंको माइतिघर भेला भएर समाचकेवा पर्व मनाएका हुन् । थारु महिला समाज नेपाल, थारु सास्कृतिक संगीत बिकास मञ्च लगाएतका संस्थाको अगुवाइमा सांस्कृतिक र्याली समेत निकालिएको थियो । भाइटीकाको भोलिपल्टदेखि कात्तिक पूर्णिमासम्म मनाइने यो पर्वमा दिदीबहिनीहरुले माटोका विभिन्न मुर्तीहरु समाचकेवा, सतभैया, चुगला, चराचुरुङ्गी, वृन्दावन लगायतका आकृती बनाएर खेल्ने गर्दछन् ।

दाजुभाइ तथा दिदीबहिनीको प्रेम तथा मायालाई झल्काउने समाचकेवा पर्व बर्षमा एक पटक खेल्नाले दाइभाइको प्रेम, माया, मामता र दीर्घायु बढ्ने धार्मिक किम्बदन्तीसहित विश्वास गरिएको छ । द्वापर युगमा श्रीकृष्णकी सुपुत्री सामा वृन्दावन जंगलमा घुम्न जाँदा ऋषिसँग रमन गरेको झूठो कुरा सेविका डिहुलीले कृष्णसमक्ष लगाएकाले आवेसमा आएर कृष्णले सामा र वृन्दावनका समस्त ऋषिलाई चरा बन्ने श्राप दिएका थिए ।

यो कुरा सुनेपछि सामाका भाइ साम्बले दिदीलाई श्रापबाट मुक्त गराउन घोर तपस्या गरेपछि तपस्याबाट खुसी भएर कृष्णले सामासहित सबै ऋषिलाई श्रापबाट मुक्त गरेको किम्बदन्ती छ ।

भाइले दिदीलाई श्रापबाट मुक्त गराएकाले सोही दिनदेखि माटाको सामाचकेवा पर्व मनाउन थालिएको जनविश्वास छ ।