अकुपाई टुडिखेलको प्रभाव : खुल्लामञ्चका व्यापारिक टहरामा महानरगरको ताला

अकुपाई टुडिखेलको प्रभाव : खुल्लामञ्चका व्यापारिक टहरामा महानरगरको ताला
शुक्रबार, कार्तिक २९, २०७६

काठमाडौं-‍ खुल्लामञ्चस्थित दुईमाजु गुठीमा पसल राख्न बनाइएका अस्थायी टहरामा काठमाडौं महानगरपालिकाले ताला लगाएको छ ।

खुलामञ्चबाट उत्तर र रन्तपार्कबाट दक्षिणतर्फको दुईमाजु गुठीको एक रोपनी जग्गामा टहरा बनाएर पसलका लागि भाडामा लगाइएको थियो।

उक्त जग्गामा शुक्रबार महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीको उपस्थितिमा ताला लगाइएको हो।

दुईमाजु गुठीको उक्त जग्गा व्यक्तिगत जग्गासरह उपयोग गरेर मासिक ७ लाख रुपैयाँ आउने गरी ३५ वटा कपडा पसललाई भाडामा लगाइएको थियो।

पटकपटक अतिक्रमणको चपेटामा पर्दै आएको खुल्लामञ्चभित्रको दुईमाजु गुठीको जग्गा गुठी संस्थानले अमृता भट्टराईलाई संरक्षण तथा रेखदेखका लागि दिएको थियो।

तर भट्टराईले रेखदेख गर्ने बहानामा १७ वटा अस्थायी टहरा बनाइ गुठी परिसरलाई व्यापारिक केन्द्र बनाएसँगै स्थानीय तथा सम्पदा अभियान्ताले विरोध गरेका थिए। विवाद आएपछि गुठी संस्थानले उक्त सम्झौता समेत भंग गरिसकेको छ।

यसअघि गत कार्तिक ६ गते काठमाडौं महानगरले दईमाजु गुठीका जग्गा खाली गर्नका लागि अनुरोध समेत गरेको थियो।