तरुण दलको बन्दका कारण बाँकेको जनजीवन प्रभावित

शुक्रबार, कार्तिक २९, २०७६

बाँके । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले आह्वान गरेको बन्दका कारण बाँकेको जनजीवन प्रभावित भएको छ ।

तरुण दलले आफ्ना कार्यकर्तामाथि प्रहरी प्रशासनले झुटा मुद्दा लगाउँदै फसाउने षडयन्त्र गरेको र त्यसको प्रमाण सार्वजनिक हुँदा समेत न्याय नपाएको भन्दै नेपालगन्ज बन्द आह्वान गरेको हो ।

बन्दका कारण बिहानैदेखि नेपालगन्ज र कोहलपुरबाट छुट्ने लामो तथा छोटो दुरीका सवारीसाधन प्रभावित भएका छन् ।

बजार व्यवसाय, उद्योग कलकारखाना र शिक्षण संस्था बन्द भएका छन् । बाँकेको नेपालगञ्ज, खजुरा, कोहलपुर लगायतमा बन्दको प्रभाव परेको छ ।

बिहानै देखि तरुण दलका कार्यकर्ताहरु सडकमा उत्रिएका छन् । बन्दमा उनीहरुले मोटरसाइकल र इरिक्सा समेत चल्न दिएका छैनन् ।

प्रहरीले आफैं हतियार राखेर तरुण दल नेपालगन्ज नगरसभापति सन्दीपजंग शाहलगायतका कार्यकर्तालाई फसाएको भन्दै प्रहरी विरुद्ध आन्दोलनमा उत्रनु परेको तरुण दल बाँकेले जनाएको छ ।

बिहीबार साँझ नेपालगन्जमा राके जुलुस प्रदर्शन गरेको तरुण दलले आज आफ्ना कार्यकर्ता छुटाउन दबाव दिने क्रममा चरणबद्ध विरोधका विभिन्न कार्यक्रम गर्दै आज बाँके बन्दको आयोजना गरेको हो ।

बांके प्रहरीले चोक तथा सडकमा ब्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरेपनि बन्दकर्तालाई भने नियन्त्रण्मा लिएको छैन । बन्द साँझ ५ बजेबाट हट्ने तरुण दल बाँकेले जनाएको छ ।