पूर्बाधार निर्माणमा भद्रगोलः लेनबिना साइकल स्ट्याण्ड ! (भिडियो)

पूर्बाधार निर्माणमा भद्रगोलः लेनबिना साइकल स्ट्याण्ड ! (भिडियो)
शुक्रबार, कार्तिक २९, २०७६

सोनी साही
काठमाडौं । काठमाडौं उपत्यकालाई साइकलको शहर बनाउन भन्दै बेला/बेला चलाइने अभियानले साइकल प्रयोगकर्ता बढ्दै गएको बताइन्छ ।

वातावरणमैत्री तथा स्वास्थ्यका दृष्टिले पनि उपयुक्त मानिएकाले साइकल प्रयोगकर्ता बढ्दै गएको ठानिन्छ । तर साइकल गुडाउने लेन नै नहुँदा प्रयोगकर्ता निराश छन ।

तर ललितपुर महानगरपालिकाले भने लेन नै नभए पनि साइकल सिटी बनाउने अभियानमा कस्सिएको छ ।

अत्यासलाग्दो प्रदुषण र खपिनसक्नुको जाम काठमाण्डौ उपत्यकाको पर्याय बनिरहेको छ ।

अर्कातर्फ साँघुरा सडक र सिमित सवारीसाधनमा यात्रा गर्नुपर्ने बाध्यताले सर्वाजनिक यातायातको यात्रा पनि आरामदायी छैन । यावत समस्या खेप्नेहरु विस्तारै साइकलतर्फ आकर्षित छन ।

वातावरणमैत्री एवंम स्वास्थ्यका दृष्टिले समेत उपयुक्त मानिएका कारण साइकल प्रयोग गर्न आम मानिस लालयित पनि छन । तर तदअनुरुपको पूर्वाधार नहुँदा साइकलमा यात्रा गर्न चाहनेहरु चाहेर पनि प्रयोग गर्न नसकिएको गुनासो गर्छन साइकल यात्री पूर्णराज शाक्य ।

भिडियो हेर्नुहोस्

तर ललितपुर महानगरपालिका भने नगरबासीको चाहाना परिपूर्तिमा कस्सिएको छ ।

सडकमा साइकलका लागि छुट्टै लेन नै नभएपनि महानगरपालीका भने यतिबेला धमाधम साइकल स्टेण्ड बनाउन जुटेको छ । महानगरपालिकाका मेयर चिरीबाबु महर्जनका अनुसार १० स्थानमा एक सय वटा साइकल स्ट्याण्ड निर्माण गरिनेछ ।

अहिले निर्माण सम्पन्न भएका चार स्थानका समेत गर्दा ६० वटा साइकल स्ट्याण्ड निर्माण भइसकेका छन ।
महानगर परिसरभित्र दुई ठाउँमा, महापालमा एक ठाउँ र जावलाखेल चिडियाखाना जाने बाटोमा साइकलस्ट्याण्ड निर्माण गरिसकिएको महानगरपालिकाले जनाएको छ ।

एक सय स्ट्याण्ड बनाउन महानगरले यो वर्ष पाँच लाख रुपैयाँ बजेट समेत छुट्याएको छ। तर साइकल कुदाउने लेन बिना बनाइएका यस्ता पूर्वाधारको उपदेयिताचाँही के होला भन्नेमा जनस्तरबाट आलोचनासमेत भइरहेको छ । महानगरपालिकाले भने कुपण्डोल–जावलाखेल–लगनखेल– मंगलबजार–पुल्चोक रुटमा साइकल लेन बनाउन बजेट नै छुट्याइसकिएकाले लेनको काम पनि सँगसँगै अघि बढ्ने आश्वासन दिएको छ ।

साइकलका लागि आवश्यक पूर्वाधार निर्माण सम्पन्न भएपछि यात्रीको सुरक्षाकासाथै वातावरण पनि स्वच्छ हुने महानगरको विश्वास छ ।