सुरक्षाको कारण देखाउँदै आलमलाई नख्खु कारागार ल्याइयो

सुरक्षाको कारण देखाउँदै आलमलाई नख्खु कारागार ल्याइयो
शनिबार, कार्तिक ३०, २०७६

काठमाडौँ । पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएका निलम्बित सांसद मोहमद अफताब आलमलाई नख्खु कारागार ल्याइएको छ।

१२ वर्ष अगाडि बम विस्फोटमा घाइते भएकालाई जिउँदै इँटा भट्टामा जलाएको आरोपमा आलमलाई शुक्रबार जिल्ला अदातल रौतहटले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

आलमलाई बिहान साढे ४ बजे ललितपुरस्थित नख्खु कारागार ल्याइएको हो । आलमलाई जिल्लामै राख्दा खतरा हुने भएकाले गृह मन्त्रालयको आदेश अनुसार नख्खु ल्याइएको प्रहरीले जनाएको छ ।

अदालतले सुरक्षाको दृष्टिकोणले आलमलाई रौतहट कारागारमा राख्नु उपयुक्त नभएमा अन्य कारागारमा स्थानान्तरण गर्न सकिने व्यहोराको आदेश दिएको थियो ।