हनुमान ढोकामा परिसरमा अब पार्किङ गर्न नपाइने

हनुमान ढोकामा परिसरमा अब पार्किङ गर्न नपाइने
शनिबार, कार्तिक ३०, २०७६

शान्त लम्साल

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २३ स्थित बसन्तपुर र आसपासको क्षेत्रमा अव्यस्थित सवारी पार्किङ हटाइएको छ ।

पर्यटकको चाप बढ्दै जाँदा पार्किङ तथा सवारी प्रवेशका कारण समस्या परेपछि स्थानीयको दवावमा २३ नम्बर वडा कार्यालयले पुनः सवारी निषेध गरेको हो ।

आपत्तकालिन घट्ना आगलागी, विरामी, दुर्घट्ना भएको खण्डमा दमकल, एम्बुलेन्स तथा अति आवश्यक सवारी साधान प्रवेश मै समस्या पर्न थालेपछि अधिकांश भित्रि शहरका सर्वसाधारणले अवस्थित पार्किङ हटाउन सम्वद्ध निकायलाई दवाव दिंदै आएका छन् ।

त्यसमा पनि जथाभावी सवारी साधन रोक्ने र प्रवेश गर्ने प्रबृतिका कारण उपत्यकाका सम्पदा क्षेत्र बढी समस्यामा परेका छन् । आन्तरिक तथा बाह्य पर्यटकलाई आवगमन देखि सम्पदा क्षेत्र अवलोकनमा समेत वाधा परेको तथा अव्यवस्थित पार्किङका कारण सम्पदा कुरुप बन्दै गएको बिश्लेषण पछि सरोकारवालाको बैठक बाट बसन्तपुर क्षेत्रमा सवारी पार्किङ निषेध गरिएको प्रदेश नम्बर ३ का सांसद राजेश शाक्यले जानकारी दिए ।

पर्यटकीय क्षेत्रलाई सुन्दर, सफा र व्यवस्थित गर्न थप प्रबिधि युक्त व्यस्थापन गर्ने र अत्यावश्यक सवारी साधन बाहेकलाई प्रवेश नदिईने हनुमानढोका दरबारक्षेत्र संरक्षण कार्यक्रमले जनाएको छ ।

पार्किङ व्यवस्थापनका लागि महानगरिय प्रहरि बृत्त जनसेवा, महानगरिय ट्राफिक प्रहरी बृत जनसेवा, काठमाडौं महानगरपालिका हनुमान ढोका दरबार संरक्षण कार्यक्रम, काठमाडौं महानगरपालिका नगर प्रहरी महाशाखाले समन्वय गर्न थालेपछि बसन्तपुरमा सवारी पार्किङ निषेध भएको हनुमानढोका दरबार संरक्षण क्षेत्रका निमिक्त प्रमुख चीन बज्राचार्यले बताए ।

सन् १९७९ मा विश्वसम्पदा सूचीमा सूचीकृत संवेदनशील हनुमानढोका दरबार क्षेत्र भुकम्पका कारण तहसनहस भएपछि अहिले पुर्ननिमार्णको काम चलिरहेको छ ।

विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले क्षतविक्षत बनेको वसन्तपुर दरबार क्षेत्रमा भग्नावशेष जताततै छरपस्ट रहेको र यस्ता महत्वपूर्ण पुरातात्विक ऐतिहासिक सामग्रीको सुरक्षामा समेत यसले चुनौती थपेको भन्दै अहिले पुनः सुरक्षा निकाय, कर्मचारी र स्थानीयवासीका सवारी साधन प्रवेशमा समेत कडाई गरिएको हो ।

अब जथाभावी ट्याक्सी, रिक्सा पार्किङ र व्यापारको नाममा पर्यटकलाई आफ्नो सामान विक्री गर्न पछिपछि लाग्नेलाई समेत निगरानीमा राखिने प्रहरीले जनाएको छ । यो अभियान अब विशिष्ट महत्व बोकेका असन, इन्द्रचोक र काष्ठमण्डप लगायतका क्षेत्रमा बिस्तार गरिने छ ।