रेबिज संक्रमितको संख्या बढ्दै, नियन्त्रणका लागि सचेतना आवश्यक

रेबिज संक्रमितको संख्या बढ्दै, नियन्त्रणका लागि सचेतना आवश्यक
शनिबार, कार्तिक ३०, २०७६

सोनी शाही

काठमाडौं-नेपाल सरकारले सन् २०३० भित्र नेपालबाट रेबिज उन्मूलन गर्ने लक्ष्य लिएको छ। तर सरकारी लक्ष्य अनुसार काम नहुंदा हरेक बर्ष रेबिज संक्रमित बिरामीको संख्या बढ्दै गएको छ।

काठमाडौ उपत्यकामा मात्रै अहिले छाडा कुकुरको संख्या ३२ हजार भन्दा माथि रहेको र २० हजारभन्दा बढी कुकुरलाई अहिलेसम्म रेबिजविरुद्धको खोप नलगाईएकाले यो रोगले भयावह रुप लिईरहेको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका अनुसार नेपालमा पछिल्लो पाँच वर्षमा क्रमशः रेबिजका बिरामीको संख्या बढ्दै गएको छ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा वार्षिक औसत १६ जना रेबिजका विरामी उपचारका लागि भर्ना हुने गरेकोमा पछिल्लो ६ महिनामा १६ जनाको ज्यान नै गइसकेको छ ।

यसले पनि क्रमशः रेबिजका बिरामी बढ्दो अवस्थामा देखिएको चिकित्सकहरु बताउंछन् । यही अनुपातमा रेबिज लागेका बिरामी बढ्दै जाने हो भने नेपालको सन् २०३० मा रेबिज उन्मूलनको लक्ष्य पूरा हुनेछैन ।

तर पनि सरकारले अभियान अन्तर्गत् एन्टि रेबिज खोप निःशुल्क वितरण गर्दै आएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका बेरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त चन्द्र ओझाका अनुसार आर्थिक वर्ष २०७४/७५ मा कुकुरको टोकाइबाट हुने रेबिज संक्रमणकै कारण देशभर २० जनाले ज्यान गुमाएका छन् ।

रेबिजको संक्रमण दर घटाउन विदेशी निर्देशीका हुबहु सारेर अघि बढेको सरकारले भने आगामी ११ वर्षभित्र रेबिज निर्मूल पार्ने लक्ष्य लिएको छ ।

नेपालको सन्दर्भमा बढ्दो संक्रमण रोक्न पर्याप्त जनचेतना कै अभाव छ । त्यसैले पनि लक्ष्यअनुसार रेबिज संक्रमित बिरामीको संख्या नघटेको हो ।

जुन समस्या काठमाडौ उपत्यका सहित शहरी क्षेत्रमा छाडा कुकुरका कारण भयावह बनिरहेको छ भने ग्रामिण क्षेत्रमा जंगली जनावरको टोकाईका कारण धेरैमा यस्तो संक्रमण सरिरहेको छ । तै पनि जटिल बनिरहेको यो समस्या समाधानका लागि काठमाडौँ महानगरपालिकाले ७० लाख भन्दा बढी बजेट छाडा कुकुरको उपचार र व्यवस्थापनमा खर्चिरहेको महानगरका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए ।

रेबिज तातो रगत भएका कुकुर, स्याल, बांदर, हुँडार, मोङ्गोज नामक जङ्गली बिरालोको टोकाइबाट सर्छ ।

रेबिज भाइरस लागेको जनावरले टोक्दा र्‍यालबाट तथा रेबिज लागेको जनावरले घाउ वा चोटपटक लागेको ठाउँमा चाटेमा मानिसमा यो रोग लाग्ने चिकित्सकहरु बताउंछन् ।

जसबाट जोगिन सबैभन्दा बढी हामी आफैं सचेत बन्नु जरुरी छ ।