कस्तो बन्यो भूकम्पले भत्किएको भक्तपुर दरबार क्षेत्रको सम्पदा ?

कस्तो बन्यो भूकम्पले भत्किएको भक्तपुर दरबार क्षेत्रको सम्पदा ?
शनिबार, कार्तिक ३०, २०७६

शान्ता दनुवार

भक्तपुर । भक्तपुर दरवार क्षेत्रका अधिकांश ऐतिहासिक सम्पदा पुनः निर्माणको काम सकिएको छ।

भक्तपुर नगरपालीकाको समन्वय र अग्रसरतामा ८० प्रतिशत भन्दा बढी सम्पदा पहिले कै स्वरुपमा पुर्ननिमार्ण गरिएको हो ।

२०७२ सालको बिनासकारी भूकम्प र त्यसपछिका पराकम्पबाट क्षतविक्षत बनेका सांस्कृतिक एवं पुरातात्विक सम्पदा पुर्ननिमार्णमा भक्तपुर सफल देखिएको छ ।

अधिकांश सम्पदा क्षेत्र अझै अस्तव्यस्त रहेको बेला भक्तपुर दरबार परिसरको स्वरुप भने लगभग पहिलेकै अवस्थामा फर्किएको छ ।

भक्तपुर नगरपालिकाले दुई किसिमबाट ऐतिहासिक सम्पदा पुर्ननिर्माण भईरहेको जनाएको छ । सामान्य प्रकृतिका मन्दिर तथा सम्पदाका लागि उपभोक्ता समिति बनाइएको छ भने अधिकांश उपभोक्ता समितिमा भक्तपुरको पुरातत्व र कला सम्वन्धी ज्ञानभएका सामाजीक अगुवा सदस्य छन् ।

पुर्ननिर्माण सम्वन्धी आवश्यक राय सुझावका लागि छुट्टै प्राविधिक समिति क्रियाशील छ । नगरपालिकाले यो बीचमा भक्तपुर दरबार क्षेत्रका हरिहर नारायण, शंकर नारायण, त्रिविक्रम नारायण, केदारनाथ लगायतका मन्दिरको पुनर्निर्माण सकेको भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले जानकारी दिए ।

यस्तै पुरातत्व विभाग अन्तर्गतको भक्तपुर दरबार हेरचाह कार्यालयले शिलु महादेब र सिद्धिलक्ष्मी मन्दिर बहुवर्षीय योजना अन्तर्गत पुर्ननिर्माण सम्पन्न गरेको छ ।

अर्को सम्पदा क्षेत्र चाँगुनारायण मन्दिर पुनः निर्माण अन्तिम चरणमा पुगेको छ । दक्षिण वाराही, नील बाराहीको मन्दिरको सत्तल, नगदेशमा रहेको सत्तल र मन्दिर महेश्वरी घाटको पीठ र सत्तल, कला संग्रालय निर्माणको काम पनि विना अवरोध अघि बढेको छ ।

सम्पदा पुनः निर्माणका लागि गठन भएका विभिन्न समितिले सबैको राय सुझाव र अनुभवका आधारमा पुरानै शैलिमा लगभग ८० प्रतिशत काम पुरा गरेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले जनाएको छ ।

पुनर्निर्माण सकिएका पुरातात्विक सम्पदामध्ये विश्व सम्पदा क्षेत्र भित्रका ९६ वटा छन् भने विश्व सम्पदा क्षेत्र बाहिरका २ सय ८४ वटा रहेका छन् । यी सम्पदा पुनर्निर्माण गर्न २१ अर्ब २६ करोड रुपैयाँ खर्च भएको छ ।

सम्पदा पुनर्निर्माणमा नेपाल सरकारको स्रोतका अतिरिक्त विभिन्न मुलुकका दातृ निकायले नगरपालीकासंग समन्वय गरेका छन् । विश्व सम्पदा सुचीमा सुचिकृत काठमाडौं उपत्यकाका सात वटा सम्पदा क्षेत्र मध्य भक्तपुर दरबार परिसर महत्वपूर्ण पर्यटकीय क्षेत्र हो । यसकारण पनि याहाँका मठ मन्दिर पुरानै शैलिमा पुर्ननिमार्ण गरिएका हुन् ।

राष्ट्रिय पुर्ननिमार्ण प्राधिकरणका अनुसार, भूकम्पबाट कुल ८ सय ९१ वटा पुरातात्विक एवं सांस्कृतिक सम्पदामा क्षति पुगेको थियो । ती मध्ये ७ सय ५३ वटा भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका छन् भने भूकम्प प्रभावित १७ जिल्लाका १ सय ३८ वटा सम्पदा छन् ।

ती मध्य केहि निर्माण सम्पन्न भईसकेका, केहि निर्माण भईरहेका र केहि निर्माण हुन बाँकि छन् ।