स्थानीय सरकारको बेवास्ताले खानेपानी आयोजना निर्माण भएन

स्थानीय सरकारको बेवास्ताले खानेपानी आयोजना निर्माण भएन
आइतवार, मंसिर १, २०७६

दिनेश विष्ट

धनगढी । धनगढीको फुलवारीमा निर्माणाधिन खानेपानी आयोजनाको कामले गति नलिदा स्थानीय वासिन्दा स्वच्छ खानेपानीबाट बञ्चित भएका छन् ।

फुलवारी क्षेत्रका झण्डै दुई हजार पाँच सय घरधुरीलाई खानेपानी वितरण गर्ने उद्देश्यले आर्थिक वर्ष २०६८/६९ देखि निर्माण थालिएको फुलबारी डिपो खानेपानी आयोजनाको काम कछुवा गतिमा चलिरहेको छ ।

धनगढी उपमहानगरपालिका वडानम्बर–१८ र १९ का नागरिकलाई स्वच्छ खानेपानी पुर्‍याउने उद्देश्यले ९ बर्ष अघी निर्माण शुरु भएको फूलबारी खानेपानी आयोजना सम्पन्न हुन सकेको छैन ।

झण्डै १५ करोडको लागत एस्टिमेट गरी काम थालिएको सो योजनामा वर्षेनी न्युन बजेटका कारण कामले गति लिन नसकेको हो । खानेपानी योजना निर्माण सम्पन्न नहुँदा स्थानीय बासिन्दा स्वच्छ खानेपानीबाट बञ्चित भएका छन् ।

खानेपानीको आयोजना शुरु हुदाँ खुशीयाली मनाएका स्थानीय ९ बर्षसम्म पनि खानेपानी उपभोग गर्न नपाउँदाको आक्रोश पोख्छन धनगढी १८ फूलबारीका मोहन पाण्डेय ।

आयोजनाका लागि स्थानीयले १९ प्रतिशत अर्थात तीन करोड बराबरको जनश्रमदान समेत गर्नुपर्ने छ । करिव १५ हजार जनसंख्या रहेको फूलबारी क्षेत्रमा दुई हजार पाँच सय भन्दा बढी घर धुरीबाट पानी ट्याङकी निर्माणका लागी आठसय रुपैया संकलन गरिएको छ ।

खानेपानी मर्मत कोष अन्र्तगत उपभोत्ताले एक प्रतिसत जम्मा गर्नुपर्ने प्रावधान रहेको छ । प्रत्येक घरबाट रकम उठाईएपनि अहिलेसम्म आयोजना सम्पन नभएको स्थानीय विमल सुवेदीको गुनासो छ ।

हाल सम्म आयोजना अन्र्तगत पाँच कारोड ४५ लाख खर्च गर्दै दश किलोमिटर पाईप लाईन विस्तार, दुई ओटा ओभर हेड ट्ङ्यकी, चारओटा वोरिङ, दुई ओटा कार्यालय भवन निर्माण र दुई ओटा कम्पाउण्ड वाल निर्माण गरिएको छ ।

१४ करोड ६७ लाख ७५ हजारको लागत स्टमेट रहेको योजनामा सुरुका दुई वर्ष एकरएक करोड वजेट विनियोजना भएपनि पछिल्ला वर्षहरुमा भने १५ लाख भन्दा बढी बजेट विनियोजना नभएको खानेपानी डिभिजन कार्यालय धनगढीले जनाएको छ ।

खानेपानी योजना समयमा सम्पन्न गर्न मन्त्रालयबाटै आवश्यक बजेट नआउने समस्या कायमै छ । एकै पटक धेरै योजना लागु हुने तर पुराना योजना सम्पन्न गर्नेतर्फ ध्यान नजाँदा बर्षौँ देखि स्वच्छ खानेपानी पिउने स्थानीयको सपना सारकार हुन सकेको छैन ।