खुलामञ्चको दुईमाजु मन्दिरमा ताल्चा

खुलामञ्चको दुईमाजु मन्दिरमा ताल्चा
आइतवार, मंसिर १, २०७६

शान्ता लम्साल

काठमाडौं । काठमाडौंको खुलामञ्चस्थित दुईमाजु मन्दिर परिसर अतिक्रमण गरी खोलिएका पसल तत्काल हटाउन माग गर्दै आन्दोलनमा उत्रिएका अभियान्ताहरुले निरन्तर दवाव दिई रहेका छन् ।

सर्वसाधारण तथा टुँडिखेल सरंक्षण अभियन्ताहरूको लगातारको विरोधपछि गुठी संस्थानले ती पसल हटाउन गत कार्तिक ६ गते नै आदेश गरेको हो । तर दुईमाजु गुठीसंग समन्वय गरेर पसल चलाई रहेकाहरुले मानेका छैनन् ।

टुँडिखेल अतिक्रमणविरूद्ध सार्वजनिक अभियान अन्तर्गत पहिलो चरणमा दुईमाजु मन्दिर परिसर खाली गराउन दवाव दिई सकेका अभियान्ताहरु अहिले अकुपाई टुँडिखेल नामक अभियानमा छन् ।

अभियान्तहरुले वर्षौंदेखि टुँडिखेल मिचेर बसेको सेना र खुलामञ्च मासेर बसपार्क चलाएको काठमाडौं महानगरपालिकालाई दुबैलाई अतिक्रमण छाड्न दवाव दिईरहेका छन् । यसअघी दुईमाजु मन्दिर परिसर खाली गराउन गुठी संस्थानलाई दवाव दिने अभियान्तहरु कै अग्रसरतामा अहिले अकुपाई टुँडिखेल अभियान चलाइएको अकुपाई टुँडिखेलका अभियन्ता सुशन बैद्यले बताए ।

खुलाचौर र सम्पदा संरक्षण अभियानमा महानगरकी उपमेयर हरिप्रभा खड्गीले सुरुबाटै साथ दिईरहेकी छन्, जो महानगरको न्यायीक समितिको संयोजक समेत हुन् । तै पनि दुईमाजु मन्दिर क्षेत्र अथवा टुँडिखेलको अतिक्रमण हटाउन महानगरले नै अग्रसरता लिनसकेको छैन ।

दुईमाजु मन्दिर परिसरमा पसले चलाएर बसेकाहरु दुईमाजु गुठीसँग स्वीकृति लिएर पसल चलाएको भन्दै ठाउं खाली गर्न तयार देखिएका छैनन् । व्यापारीहरु महानगर लगाएतका निकायसंगको बैधानिक सम्झौता अनुसार नै पसल थापेर बसेको र आवाश्यक परे न्यायिक उपचार खोज्ने बताउँछन् व्यवसायी झलक प्रसाद गेलाल ।

गुठी संस्थानले २०७५ साल मंसिर २१ गते अमृता भट्टराईलाई महिनाको १५ हजार रूपैयाँमा मन्दिर परिसर भाडामा दिएको देखिन्छ । भट्टराईले यी पसलहरू भाडामा लगाएको गुठी संस्थानका प्रवक्ता सरोज थपलियाको दाबी छ ।

सम्पदा अभियन्ताहरुले भने टुँडिखेल र दुईमाजु मन्दिरको महत्व महानगरपालीकाले नबुझेको भन्दै आक्रोश पोख्छन् । विज्ञहरुका अनुसार यो काठमाडौ उपत्यकाको ठूलो शक्तिपीठ हो ।

विगतमा राजा महाराजासमेत यहाँ शक्ति लिन आउने गरेको र अहिले पनि यहाँबाट विभिन्न जात्रा सञ्चालन हुँदै आएको अभियान्तहरुको दावी छ । तर काठमाडौ महानगरपालीका प्रवक्ता ईश्वरमान डंगोल भने यस्तो गुनासो सुन्न तयार छैनन ।

अहिले खुलामञ्च खुलै रहनुपर्छ र सम्पदाहरु संरक्षण गरिनुपर्छ भन्ने दवाव बढेपछि जनप्रतिनिधि समेत यो अभियानमा जोडिन थालेका छन् । यही अभियान अन्तर्गत् खुलामञ्चस्थित दुईमाजु मन्दिर परिसरमा खोलिएका पसलहरूमा टुँडिखेल संरक्षण अभियानका अभियन्ताहरूकै पहलमा शुक्रवार ताला लगाएका छन् । जसमा महानगरपालीकाको भुमिका महत्वपूर्ण हुनसक्छ ।