जाजरकोटका ६० प्रतिशत नागरिक अझै टेलिफोन सेवाको पहुँच बाहिर

जाजरकोटका ६० प्रतिशत नागरिक अझै टेलिफोन सेवाको पहुँच बाहिर
बिहिबार, मंसिर ५, २०७६

बद्री पन्त
जाजरकोट- जाजरकोट जिल्लामाका ६० प्रतिशत नागरिक अझै टेलिफोन सेवाको पहुँचमा पुगेका छैनन्। सूचना प्रविधिमा देशले ठुलै फड्को मारेको तथ्यांक सार्वजनिक हुँदै गर्दा जाजरकोटमा भने सामान्य मोवाइलमा कुरा गर्नसमेत टावर खोज्दै रुख तथा पहाड चढ्नुपर्ने बाध्यता छ।

बारेकोट गाउँपालिका–५का भीमबहादुर सिंह घाटबजारमा व्यापार व्यवशाय गर्दै आएका छन्। उनी सदरमुकाम खलंगा लगायत स्थानमा सम्पर्क गर्न मोबाईल टावर समात्ने अग्लो डाँडामा पुगेर फोन र्गछन्। विगत एक बर्षदेखि बारेकोटको रतनकोटस्थित जन्तेलेकको टावर मर्मत नहुँदा स्थानीय फोन सम्पर्क विहीन भएका हुन्।

फोनकै लागि पहाड अथवा रुख चढ्ने भीमबहादुर एक प्रतिनिधिपात्र मात्र हुन्। उनीजस्तै जाजरकोटका हजारौं स्थानीय संचार सम्पर्कको समस्यामा छन्। जिल्लाका सबै क्षेत्रलाई समेट्नेगरी टेलिफोन टावर बन्न नसक्दा अनि बनेका टावरको पनि नियमित मर्मतसंभार हुन नसक्दा स्थानीय संचारको सम्पर्कको समस्या झेल्दै आएका छन्।

भिडियोमा हेर्नुस्

बारेकोटको विरेन्द्र ऐश्वर्य माद्यामिक विद्यालय बारेकोट लिम्साका प्रधानाध्यापक गोरखबहादुर सिंहका अनुसार ‘घाम लागे टेलिफोन छ, घाम छैन टेलिफोन छैन’ ।  उनले नेपाल टेलिकमको चरम लापरबाहीका कारण टेलिफोन तथा इन्टरनेटको भरपर्दो सेवा पाउन सकेका छैनन् ।

जाजरकोटका सातवटा स्थानीय तहका ६० प्रतिशत स्थानीय टेलिफोन सेवाको पहुँच बाहिर छन्। कुशे गाउँपालिका र बारेकोट गाउपालिकाका अग्लो ठाउँ बाहेक अन्यमा मोबाईल सेवाको पहुँच छैन।

जिल्लाका अधिकांश स्थानीय तहले टेलिफोन, इन्टरनेट, बैंक, विद्युत लगायत सुविधा नभएको भन्दै सदरमुकामबाटै सेवा संचालन गर्दै आएका छन्। जसका कारण सेवाग्राहीले संघीयता आएको र स्थानीय सरकार बनेको अनुभव गर्न पाएका छैनन्।

टेलिकमले नियमित रुपमा टाव मर्मत तथा संभार नगर्दा समस्या आएको छ। तर, टेलिकम क्षेत्रीय कार्यलय नेपालगंजमा कार्यरत प्रविधिक शिव खनालले क्षमता विस्तार गर्ने, पावर अपडेट् गर्ने, लाईन सुधार गर्ने लगायका काम भइरहेको बताएका छन्।

 

नेपाल टेलिकमले अघिल्लो वर्षको अक्टोवरमा एक बर्षमै कार्य सम्पन्न गर्ने गरी भारती कम्पनी एष्टर नेपाल प्रालिसँग सम्झौता गरेको थियो। कम्पनीका प्रोजेक्ट म्यानेजर महेशचन्द्र पुजारीले माघ मसान्त भित्र जाजरकोटका ६ वटै टावर निर्माण गर्ने बताए।

जाजरकोटका विभिन्न स्थानमा रहेका स्काई मोबाइलका टावर समेत गुणस्तरीय नहुँदा नागरिक संचार सेवाबाट नै बञ्चित छन्।