प्रतिफल देखिने गरी काम गर्न नव नियुक्त मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन

प्रतिफल देखिने गरी काम गर्न नव नियुक्त मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन
शुक्रबार, मंसिर ६, २०७६

काठमाडौ – प्रधानमन्त्री केपी ओलीले नव नियुक्त मन्त्रीहरुलाई प्रतिफल देखिने गरी काम गर्न निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरवारमा हिजो साझ बसेको पुर्नगठित मन्त्रिपरिषद्को पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताले प्रत्यक्ष अनुभूति हुने गरी काम गर्न नयाँ मन्त्रीहरुलाई निर्देशन दिनुभएको हो ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले मन्त्रालयको चौमासिक समीक्षा बैठकमा आउँदा प्रष्ट कार्ययोजना ल्याउन निर्देशन दिनुभयो । उहाँले कार्यायोजनाअनुरुप काम भए नभएको हेरेर फागनुसम्ममा सबैको मूल्यांकन हुने बताउनुभयो । नवनियुक्त मन्त्रीहरुले पदभार ग्रहण गरेपछि पहिलो पटक सिंहदरबारमा मन्त्रिपरिषद बैठक बसेको हो ।

बैठकमा सरकारले लिएको नीति तथा कार्यक्रमबारे नयाँ मन्त्रीहरुलाई प्रधानमन्त्रीले ओलीले निर्देशन दिनुभएको थियो । उहाँले काठमाडौंका खाल्डा चार महिनाभित्र पुरिसक्न समेत निर्देशन दिनुभयो ।

उहाँले मन्त्रालय तथा सरकारी निकायहरुबीच समन्वय अभाव देखिएको भन्दै यसले कार्यसम्पादनमा समस्या देखिने बताउनुभयो । उहाँल भारतसँग नेपालको सीमा विवाद शदियौँदेखि रहेकाले सीमा विवाद समाधान गर्नेतर्फ सरकार लागेको बताउनुभयो ।

उहाँले भारतसँग मिचिएको भूमि संवाद गरी फिर्ता लिइने बताउनुभएको थियो ।