ओलीको राष्ट्रवाद कालापानी पुगेर लम्पसार पर्‍यो : देउवा

ओलीको राष्ट्रवाद कालापानी पुगेर लम्पसार पर्‍यो : देउवा
शुक्रबार, मंसिर ६, २०७६

पोखरा- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रका मूलभूत सिद्धान्तविरुद्धका सरकारका कुनै पनि गतिविधि स्वीकार्य नहुने भनाई दोहोर्याएका छन्।

डेमोक्रेटिक लर्यस एसोसियसनको शुक्रबार पोखरामा सुरु भएको वार्षिक साधरणसभाको उद्घाटनमा सभापति देउवाले सरकार प्रजातन्त्रका मूल्यमान्यता विपरित गएको भन्दै सरकारले प्रजातन्त्रविरुद्ध चाल्ने कुनै पनि कदममा का‌ंग्रेसको साथ नरहने बताए।

‘यो सरकार संवैधानिक परिषद्मा सहमतिको बाटो रोक्न खोज्दैछ। संवैधानिक आयोगहरुलाई कठपुतली बनाएर कब्जा गर्न खोजिरहेको छ,’ दउवालर् भने, ‘आयोगहरु शाही आयोग बनाउन खोजिरहेको छ, प्रजातन्त्रका मूल्यमान्यताविरुद्ध गए हामी कुनै हालतमा छोड्दैनौं।’

सभापति देउवाले सरकारका लोकतन्त्रविरोधी क्रियाकलापका विरुद्ध सदनमा मात्रै नभएर सडकमा पनि लड्नुपर्ने समय आएको बताए। उनले कानुन व्यवसायीलाई पनि स्वतन्त्रता विरोधी सरकारका विरुद्ध लड्न तयार भएर बस्न आग्रह गरे।

‘कम्युनिस्टको काम विस्तारै जनताका हकअधिकार खोस्ने हो, त्यो काम सरकारले सुरु गरिसकेको छ,’ देउवाले भने, ‘न्याय खोस्दैछ, पत्रकारको अधिकार खोस्दैछ । पत्रकारहरु त बोल्नै डराउन थालिसके।’ त्यस विरुद्ध अब सडकमै जानुपर्ने भइसकेको उनको भनाई छ ।

न्यायपालिका स्वतन्त्र भए सरकारका बदमासीलाई रोक्ने र स्वतन्त्र नहुँदा प्रजातन्त्र खोसिने सभापति देउवाको भनाइ छ।

‘न्यायपालिका स्वतन्त्र भयो भने जुनसुकै सरकार भए पनि बदमासी गरे सही गर्न सक्छ,’ देउवाले भने, ‘न्यायपालिका जुन दिन स्वतन्त्र हुँदैन त्यो दिन प्रजातन्त्र कब्जा हुन्छ।’

सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद कालापानीमा पुगेर लम्पसारवादमा परिणत भएको आरोप लगाए।

‘कालापानी बुझाएर ओलीको राष्ट्रवाद लम्पसारवादमा गयो। उनी कहाँ राष्ट्रवाद रहे ?,’ देउवाले भने, ‘ प्रधानमन्त्री ओलीले निर्वाचन जित्न मात्र राष्ट्रवादको नारा लगाएर जनतामा भ्रम सिर्जना गरेका थिए।’