आज सागको उद्घाटन हुँदै

आज सागको उद्घाटन हुँदै
आइतवार, मंसिर १५, २०७६

काठमाडौं । तेह्रौं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको औपचारिक उद्घाटन आज हुँदैछ ।

दक्षिण एसियाली खेलकुदको सबैभन्दा ठुलो खेल महोत्सव नेपालमा आज शुरु हुन लागेको हो । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले भव्य समारोहकाबीच सागको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

उद्घाटन सत्र आज साँझ ५ बजेर १० मिनेटमा शुरु हुनेछ । उद्घाटन कार्यक्रम करिब ३ घण्टा चल्नेछ । उद्घाटन सत्रमा सहभागी सातै देशको मार्चपास सहित नेपालको कला, संस्कृति र पहिचान झल्कने सांस्कृतिक कार्यक्रम राखिएको छ ।

प्रतियोगिताका खेलहरु काठमाडौं सहित पोखरा र जनकपुरमा सञ्चालन हुनेछन् । जनकपुरमा कुस्ती, पोखरामा ८ खेल र काठमाडौंमा १९ खेल सञ्चालन हुनेछन् । १३औं सागमा २७ खेल समावेश गर्ने भनिएपनि प्याराग्लाईडिङको सहभागी संख्या नपुगेपछि २६ खेल सञ्चालन गर्न लागिएको हो ।

सागमा ७ देशका ३ हजार बढी खेलाडीले ३ सय १७ स्वर्ण, ३ सय १७ रजत र ४ सय ८१ काँस्य पदकका लागि प्रतिस्पर्धा गर्ने आयोजक राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । प्रतियोगिता सञ्चालन गर्न विभिन्न देशका २ हजार बढी अफिसियल खटिने सागको प्राविधिक समितिले जनाएको छ ।

सन् १९८४ मा नेपालबाट सुरु भएको साग झण्डै ४० बर्षपछि नेपालले तेस्रो पटक आयोजना गर्दैछ । नेपालले सन् १९९९ मा दोस्रो पटक सागको आयोजना गरेको थियो ।