आज सागको दोस्रो दिन, विभिन्न स्पर्धामा प्रतिस्पर्धा हुँदै

आज सागको दोस्रो दिन, विभिन्न स्पर्धामा प्रतिस्पर्धा हुँदै
सोमवार, मंसिर १६, २०७६

काठमाडौं । नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको दोस्रो दिन आज विभिन्न खेलमा प्रतिस्पर्धा हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार साँझ भव्य उद्घाटन भएको सागको दोस्रो दिन आज १२ खेलमा प्रतिस्पर्धा हुन लागेको हो ।

सागमा आज तेक्वान्दो, कराते, पुरुष फुटबल, ब्याडमिन्टन, भलिबल, खो खो, महिला क्रिकेट, टेबल टेनिस, टेनिस, गल्फ, ट्रायथलन र उसुको प्रतिस्पर्धा हुनेछ ।

जसमा ब्याडमिन्टन, महिला क्रिकेट र ट्रायथलन पोखरामा हुनेछ । अन्य खेल काठमाडौंमा हुनेछन ।

आज तेक्वान्दो, कराते, ब्याडमिन्टन र ट्रायथलनमा स्वर्ण पदकाको छिनोफानो हुनेछ । पुरुष फुटबलमा आज दुई खेल हुनेछन । पहिलो खेलमा बंगलादेश र भुटान तथा दोस्रो खेलमा माल्दिभ्स र श्रीलंका भिड्नेछन् ।

दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । बंगलादेश र भुटानबीचको पहिलो खेल दिउँसो १ बजे सुरु हुनेछ भने माल्दिभ्स र श्रीलंकाबीचको दोस्रो खेल साँझ ५ बजे सुरु हुनेछ ।

त्यस्तै भलिबलमा महिला र पुरुष दुवै स्पर्धामा कांस्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । सेमिफाईनलमा हारेका दुई टिम तेस्रो स्थानका लागि भिड्नेछन् । पुरुष भलिबलमा तेस्रो स्थान हासिलका लागि बंगलादेश र श्रीलंका भिड्नेछन् ।

त्रिपुरेश्वरस्थित कभर्डहलमा हुने खेल दिउँसो २ बजे सुरु हुनेछ । महिला भलिबलमा तेस्रो स्थानका लागि श्रीलंका र माल्दिभ्स प्रतिस्पर्धा गर्नेछन् । खेल अपरान्ह ४ बजे सुरु हुनेछ ।